कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाण्डौ बाेलाइयाे, मुख्यमन्त्री शाहीको पद तत्काललाई जोगियो

 असोज २७, २०७७ मंगलबार १७:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्य पदाधिकारी मुख्यमन्त्री शाही, नेता यमलाल कँडेललगायतलाई काठमाण्डाै बोलाएको छ ।

मङ्गलबार बालुवाटारमा छलफलपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई छलफलका लागि काठमाण्डाै बोलाउनुभएको हो ।

नेकपा पदाधिकारीहरुलाई दुई दिनभित्र काठमाण्डाै आउन भनिएको नेकपा स्रोतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका सांसदहरुले यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप चुलिएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । माधव नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति भएसँगै अविश्वासकाे प्रस्तावको पक्षमा रहेका सात जना सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएकाे छ ।

माधव नेपाल पक्षका नेताको साथ पाएपछि मुख्यमन्त्री शाहीले मङ्गलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको थियो ।

नेपाली प्रमुख सचेत बनेलगत्तै सचेतकमा शाह नियुक्त हुनुभएको हो । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले मुख्यमन्त्री शाहीको काम कारबाही सन्तोषजनक नभएको आरोप लगाएका छन् । शाही पूर्वमाओवादीको तर्फबाट कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया