‘यातायात व्यवसायीले यात्रुलाई सेवा दिनुपर्छ, नाफा मात्रै खोजेर हुँदैन’

 कात्तिक २, २०७७ आइतबार २०:२७:५ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – चाडपर्व नजिकिँदै गर्दा सबै सार्वजनिक गाडीमा सिट क्षमताअनुसार यात्रु चढाउन मिल्ने भएको छ । भाडादर पनि लकडाउन हुनुअघिकै कायम गरिएको छ । स्वास्थ्य मापदण्ड भने अपनाउनै पर्ने हुन्छ । तर अधिकांश सार्वजनिक गाडीले नियम पालना गरेको पाइँदैन । यसै सन्दर्भमा सार्वजनिक गाडीमा स्वास्थ्य सतर्कता अपनाउने र चाडपर्वमा गाडी व्यवस्थापन गर्ने विषयमा सहकर्मी मल्लिका थापाले ट्राफिक इन्जिनियर तथा सार्वजनिक यातायात विज्ञ आशिष गजुरेलसँ कुराकानी गर्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच अहिले लामो, मध्यम तथा छोटो दुरीमा चल्ने सार्वजनिक गाडीहरु सुरक्षित तरिकाले चलिरहेका छन् त ?

सुरुमा यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा आधा सिट सङ्ख्यामा यात्रु राख्न पाउने र ५० प्रतिशत भाडा बढी दिन पाउने, स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्नुपर्ने लगायतका मापदण्ड बनाएकोमा मापदण्ड पालना भएको पटक्कै पाइएन । निगरानी पनि गर्न सकेको देखिएन र सरकारले मापदण्ड पालना गराउन व्यवस्थापनमा पनि ध्यान दिएन । यात्रु आफै पनि सचेत देखिएनन् र व्यवसायीको मनोमानी त छँदै थियो ।

सार्वजनिक गाडीले स्वास्थ्यसम्बन्धी मापदण्ड किन पालना गर्दैनन् ?

हाम्रो नियमनको पाटो फितलो भयो, त्यसकारण व्यवसायीमा डर कम भयो । नेपालमा सार्वजनिक यातायातलाई सेवाको क्षेत्रभन्दा पनि व्यवसायको क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ । व्यवसायीले सकेसम्म ट्राफिक प्रहरीलाई, अनुगमन गर्ने निकायलाई छलेर तोकिएको मापदण्ड उल्लङ्घन गरेर नाफा कमाउने उद्देश्यले काम गरिरहेका हुन्छन् । यो स्वभाविक पनि हो किनभने राज्यले सार्वजनिक यातायातलाई कुनै पनि आर्थिक सहयोग गरेको छैन । यस्तै यात्रुले पनि आफ्नो समयानुकुल यात्रा गर्ने बानी बसालेका छन्, जसरी हुन्छ तोकिएको समयमा तोकिएको गन्तव्यमा पुग्नुपर्ने बाध्यताले उनीहरु मापदण्डलाई बिर्सेर जोखिमयुक्त यात्रा गरिरहेका हुन्छन् ।

त्यसैले सबै पक्षबाट प्रतिबद्ध भएर, एकीकृत रुपमा अघि बढ्ने हो भने मापदण्ड पालना गर्न र गराउन सहज हुन्छ । राज्यले सार्वजनिक यातायातमा लगानी गरेको छैन, निजी क्षेत्रको लगानी छ, निजी क्षेत्रकै कन्ट्रोल छ, त्यही भएर सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सकिएको छैन । त्यसैले राज्यले नियममात्र बनाएर मापदण्ड पालना गराउन सकेको छैन, यदी लगानी गरेको थियो भने नियमन गर्न पनि सजिलो हुने थियो ।

अब त सिट क्षमताअनुसार नै यात्रु राख्न पाइने भएकाे छ तर जोखिम कम गर्न कस्तो कुरामा ध्यान दिनुपर्छ ?

जोखिम अब बढी नै हुन्छ । लामो दुरीको यात्रा गर्दा त झन् २०–२२ घण्टासम्म गाडीमै रहनुपर्ने हुँदा एक जनामात्र सङ्क्रमित गाडीमा हुँदा पनि धेरै जनामा फैलिने सम्भावना हुन्छ । त्यसैले जति धेरै यात्रु राख्यो त्यतप नै धेरै सङ्क्रमणको जोखिम हुन्छ । झन् टाँसिएरै बस्नुपर्ने हुँदा सङ्क्रमणको जोखिम हुने नै भयो । त्यसैले यात्रु आफै पनि सचेत हुनुपर्छ ।

मास्क, पन्जा, स्यानिटाइजर बोकेर हिँड्ने गर्नुपर्छ । बाटोमा खाना पनि नखाने, सकेसम्म आफै लाने गर्नुपर्छ । साबुन पानीले हात धुने वा स्यानिटाइजर पनि आफैले बोकेको प्रयोग गर्नुपर्छ । गाडी गुडाँउदा झ्याल खुला नै राख्ने । विश्व स्वास्थ्य सङ्गठनकाे अनुसार कोठामा होस् या गाडीमा, हावा पास हुने गरी यात्रा गर्ने/गराउने गर्नुपर्‍याे । जाडो हुन्छ भने बरु बाक्लो लुगा लगाउने ।

झ्याल खुला गरेपछि गति भने नियन्त्रण गर्नुपर्छ । यस्तै यात्राभर मास्क नफुकाल्ने र सकेसम्म फेस शिल्डकाे प्रयाेग गर्दा जोखिम कम गर्न सकिन्छ । 

सुरक्षित यात्राका लागि सार्वजनिक गाडीमा सरकारले नियमन गर्नुपर्‍याे, व्यवसायीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍याे र यात्रुले आफै सजग भएर मास्क, स्यानिटाइजर, पन्जालगायतका स्वास्थ्य सामग्री प्रयोग गर्नुपर्‍याे । 
 
चाडपर्वको समयमा सार्वजनिक गाडीमा यात्रु बढी नै हुन्छन्, कसरी व्यवस्थित गर्ने ?

यसमा त त्रिपक्षय सम्बन्ध हेर्नुपर्छ । एउटा राज्य पक्ष हुन्छ, जसले नियमन गर्छ, अर्को व्यवसायी भयो, जसले व्यवसाय गर्ने वा गाडी चलाउने भए भने अर्को यात्रु भए जसले यात्रा गर्छन् । यिनीहरुको सम्बन्ध मजबुत हुनुपर्छ । सरकारले ठाँउ–ठाँउमा नियमन गर्नुपर्‍याे । 

अब सिट क्षमताको यात्रु राख्न मिल्ने ठाउँमा कोचाकोच गरेर यात्रा गराउनुभएन । यस्ता कुरा नियमन गर्नुपर्‍याे । व्यवसायीले पनि मापदण्ड पालना गर्नुपर्छ । विना मास्क यात्रुलाई गाडी चढ्न नदिने, चालक र सहचालकलाई पनि अनिवार्य मास्क र पन्जा लगाउन लगाउनुको साथै गाडीमा स्यानिटाइजरको व्यवस्था गरिनुपर्छ ।  

त्यस्तै हरेक टिपपछि गाडीलाई डिसइन्फेक्ट (निर्मलीकरण) गर्नुपर्छ । यात्रुको हकमा भने आफै स्यानिटाइजर बोक्नुपर्यो, मास्क प्रयोग गर्नुपर्‍याे, लामो दुरीको यात्राका लागि खानाको व्यवस्था आफै गरेर लाने, आफूले लगेको खाना आफैमात्र खाने गर्नुपर्छ । यसरी तीन वटै पक्षबाट आ–आफ्नो ठाउँबाट आफ्नो कर्तव्य पालना र जिम्मेवारी पूरा गर्ने हो भने केही हदसम्म सुरक्षित यात्रा गर्न सकिन्छ ।

चाडपर्वमा जोखिमरहित यात्राको लागि तपाईँको सुझाव के छ ?

कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा सावधानी आवश्यक छ । विश्वव्यापी रुपमै कोरोना सङ्क्रमण सार्वजनिक गाडीबाट फैलिरहेको छ भन्ने समाचार आइरहेको छ । यो अवस्थामा व्यवसायीले पनि यात्रुलाई सेवा दिने हिसाबले काम गर्नुपर्छ । यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी लिनुपर्छ । यात्रुले पनि सुरक्षित यात्राका लागि व्यवसायीले यस्तो दिनुपर्‍याे, सरकारले यस्तो गर्नुपर्‍याे भन्दा पनि आफू कसरी सुरक्षित हुन सकिन्छ, त्यो सोच्नुपर्‍याे । 

हामीले हाम्रो सुरक्षा आफै गर्नुपर्‍याे । राज्यले पनि निगरानी गर्न, नियमन गर्न छोड्यो भने भद्रगोल नै हुन्छ, त्यसैले नियमन जारी राख्नुपर्छ । रोग सर्ने र सार्ने कुरामा हेलचेक्रयाइँ गर्नु भएन । 

यसैगरी चाडपर्वको समयमा दुर्घटना बढ्ने पनि देखिन्छ, त्यसैले सडक सुरक्षामा पनि ध्यान दिन जरुरी छ । यसअघिका वर्ष दुर्घटना हुन नदिन सर्तक र सावधानी अपनाउनुपर्थ्याे  भने यसपालि स्वास्थ्य सुरक्षामा पनि ध्यान दिनुपर्ने भयो । कोरोना सङ्क्रमणको जोखिम कम गर्न सबैले आ–आफ्नो तर्फबाट प्रयास गर्न जरुरी छ । 

अन्तिम अपडेट: कात्तिक १५, २०७७

मल्लिका थापा

उज्यालाेमा कार्यरत मल्लिका थापा सडक र सवारी विधामा कलम चलाउनु हुन्छ ।

तपाईको प्रतिक्रिया