गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

 कात्तिक ७, २०७७ शुक्रबार ११:४८:३६ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखा दरबारमा रहेकाे दशैँघरबाट काठमाण्डौको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः १० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाण्डौ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।
 
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका दरबारमा फूलपाती लिएर जानुभएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो । 'गएकाे वर्ष भक्तजनहरूको ठूलो भीडभाड लाग्ने गर्थ्याे', उहाँले भन्नुभयो, 'यो पटक त्यो हुन सकेन, सामान्यरुपमा विधि पुर्याएर फूलपाती पठाएका छौँ ।'

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाण्डौको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैँघरबाट सतिपिपलमा रहेकाे फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याएर त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।
 
 कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारमा रहेकाे दशैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उहाँले बताउनुभयो । सतिपिपलसम्म बोकेर ल्याइएको फूलपाती राखेर हनुमान ढोकामा फूलपाती पठाइएको हो । गोरखा दरबारको दशैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया