डोल्पाको त्रिपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

 कात्तिक १०, २०७७ सोमबार १३:५७:१३ | रासस
unn.prixa.net

नेपालभर पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ ।

डोल्पाको त्रिपुराकोटमा आफ्नै साइतअनुसार दशैँको टीका लगाउने प्रचलन छ । दशैँका लागि बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भएपनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्य पूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी भानुचन्द्र उपाध्यायले बताउनुभयो ।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ”, उहाँले भन्नुभयो, “त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन् ।”

दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाअका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम रहेको पूजारी उपाध्यायको भनाइ छ ।

त्रिपुराकोट बाहेक डोल्पाका दुनै लिकु, पहाडा, रह, जुफाल, माझफाल लगायत ठाउँमा भने तोकिएको साइत अनुसार नै जमरा टीका लगाइन्छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया