मकवानपुरगढीमा विकासले फड्को मार्दै, तीन वर्षमा एक दर्जन पक्की पुल निर्माण

 कात्तिक १२, २०७७ बुधबार १०:५१:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर -मकवानपुरकाे गढी गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामले फड्को मारेको छ । पहिले कच्ची सडक, त्यो पनि वर्षायाममा गाडी नचल्ने बाध्यता भोग्दै आएका गाउँपालिकावासी अहिले पक्की सडक र खोलामा पुल बनेपछि सहज रुपमा ओहोर-दोहोर गर्न थालेका छन् । 

ठाउँ-ठाउँमा सडक निर्माणको कामसँगै वर्षायाममा खोला तर्न नसक्ने ठाउँमा पक्की पुल, फलामे पुल र कल्भर्ट निर्माणको कामले तिव्रता पाएको छ । केही बनिसकेका छन् भने केही निर्माणका चरणमा रहेका छन् । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँको सक्रियतामा गाउँपालिकामा पुल निर्माण र सडक निर्माणका कामले प्राथमिकता पाएका हुन् ।​

ज्यामिरे खोलाको त्रास हट्यो

मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ को ज्यामीरे खोलामा कुल ३ करोड ८ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको छ । पुल निर्माणका लागि गढी गाउँपालिकाले सबैभन्दा धेरै एक करोड ७८ लाख रुपैयाँ खर्च गरेको अध्यक्ष हुमागाईँले बताउनुभयो । त्यसमा संघीय सरकारले एक करोड रुपैयाँ र ३० लाख रुपैयाँ वाग्मती प्रदेश सरकारले खर्च गरेको छ । 

वर्षायाम लाग्ने बित्तिकै उर्लिएर आउने ज्यामिरे खोलाको त्रास अब हटेको छ । वर्षा लागेपछि मानिसलाई खोला तर्न पनि समस्या हुने र गाडी ओहोर-दोहोर गर्न झनै समस्या हुने गरेकाे थियो ।अहिले ​पुल निर्माण भएपछि स्थानीय निकै हर्षित भएका छन् ।

गढीका यी गाउँमा बने झोलुङ्गे पुल

गढी गाउँपालिकाको पहलमा गढी ४ वाइबाडाँडा र गढी ५ कालीवन जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । यस्तै मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर ८ ओखरडाँडा र भीमफेदी गाउँपालिकाको वडा नम्बर २ इचुङ जोड्ने झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।

मकवानपुर गढी ५ सिमल्टार र गढी ४ कुसुमटार जोड्नको लागि फलामे पुल निर्माण गर्न लागिएको अध्यक्ष हुमागाईँले बताउनुभयो । कुल ६५ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्न लागिएको हो । सडक नभएका र अहिले तत्काल समस्या भएका स्थानमा झोलुङ्गे पुल र फलामे पुल निर्माण हुने भएकाे छ ।

यसैगरी गढीको बागदली-देविडाँडामा स्टील ट्रस ब्रिज निर्माण गर्न लागिएको छ । गाउँपालिका र संघीय सरकारको समपूरक बजेटबाट पुल निर्माण गर्न लागिएको हो । कुल ३ करोड लागतमा निर्माण गर्न लागिएको पुलमा संघीय सरकारको एक करोड १८ लाख र अरु एक करोड ८२ लाख लगानी हुने भएकाे छ । ठेक्कामार्फत यो पुल निर्माणको काम भइरहेको छ ।

डुम्रेकुना र लामिडाँडा जोड्नका लागि १४ करोड लागतमा पुल बन्दै

मकवानपुरगढी गाउँपालिका वडा नम्बर-६ डुम्रेकुना- गढी २ र ३ को लामिडाँडा जोड्ने पुल निर्माण पनि सुरु गर्न लागिएको छ । यसैवर्ष यो पुल निर्माणको काम सुरु गर्ने तयारी गरिएको अध्यक्ष हुमागाईँले जानकारी दिनुभयो । कुल १४ करोड रुपैयाँ लागतमा पुल निर्माण गर्न लागिएको हो ।

यो पुल निर्माण भएपछि गढीका धेरै परिवारलाई ओहोर-दोहोर गर्न सहज हुने छ । यस्तै गढीको सरमपुर र तल्लोछाप जोड्ने झोलुङ्गेपुल निर्माणको काम यसैवर्ष सुरु हुने भएको छ । गढी गाउँपालिका वडा नम्बर १ र बकैया गाउँपालिका वडा नम्बर ११ जोड्नका लागि दुईवटा गाउँपालिकाको संयुक्त लगानीमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।  

गढीका साना खोलामा ठाउँ-ठाउँमा साना कल्भर्ट

मकवानपुर गढी गाउँपालिकाले विभिन्न वडामा साना खालका कल्भर्ट निर्माण गरेको छ । कल्भर्ट निर्माणपछि खाेला र खोल्सा तर्न समस्या भोग्दै आएकाहरुलाई सहज भएको छ । चालु आर्थिक वर्षमा पनि करिब एक करोड रुपैयाँ लागतमा ५ वटा कल्भर्ट निर्माण गर्ने तयारी रहेको अध्यक्ष विदुर हुमागाईँले बताउनुभयो । 

पुल निर्माण भएपछि खोला तर्दा बगाउने समस्या हट्यो

गढी गाउँपालिकाका ८ वटै वडामा रहेका खहरे खोला र सामरी खोलामा पुल नभएका कारण वर्षायाममा ओहोरदोहोर गर्न निकै समस्या हुने गर्थ्याे । यसलाई मध्यनजर गर्दै गाउँपालिका आफैँ, संघ र प्रदेश सरकारको लगानीमा पुल निर्माणकाे कामलाई अगाडि बढाइएकाे हाे ।

चालु आर्थिक वर्ष र आउँदा वर्षहरुमा प्राथमिकताका साथ पुल निर्माणको काम गरिने जनप्रतिनिधिले बताएका छन् । 
  

अन्तिम अपडेट: बैशाख १०, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया