काठमाण्डौलाई मागी खानेको शहर भनेर विश्वलाई चिनाउने प्रयास नहोस् : मेयर शाक्य

 कात्तिक १९, २०७७ बुधबार १२:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाण्डौ उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गर्नुभएको छ ।

खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावी गर्नुभएको छ ।

‘काठमाण्डाैलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ  गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डाै  मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, शाक्यले भन्नुभएको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाण्डाै महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले दावी गर्नुभएको छ ।

देशमा लकडाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ ।

‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरि खाना खान पाउनुपर्छ, काठमाण्डाै महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’, शाक्यले भन्नुभएको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमेर केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाल लगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्याउने कुराप्रति सचेत हुन मेयर शाक्यको आग्रह छ ।

अहिले काठमाण्डाैका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि ध्यानाकर्षण शाक्यको भनाइ छ ।

‘कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक हुन्न । समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाण्डाै महानगरपालिकाको कुनै वैरभाव छैन’, शाक्यले भन्नुभएको छ ।

जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिँडभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा महानगरपालिकाले आग्रह गरेको छ । त्यसका लागि आवश्यक सहयोग गर्न काठमाण्डाै महानगरपालिका तयार रहेको पनि शाक्यको भनाइ छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया