‘पैदलयात्रीले सडक पेटीमा सजिलै हिँड्न पाऊन्’

 कात्तिक २०, २०७७ बिहिबार १०:२१:३६ | मल्लिका थापा
unn.prixa.net

ललितपुर - ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउन नगर प्रहरी बल लागि परेको छ । यसअघि ललितपुर महानगरपालिकाले धेरै पटक फुटपाथ र सडक छेउ राखेका पसल हटाएर पैदल यात्री र गाडी आवागमनमा सजिलो बनाउने प्रयास गरेको थियो ।

तर १५ वर्षभन्दा धेरै समयसम्म आफूले त्यसरी नै काम गर्दै आएका फुटपाथ व्यवसायी, सडक मिचेर बनाएका टहरामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु अहिलेसम्म पनि अटेर गरेरै बसेका थिए । तर अब भने नगर प्रहरीले उनीहरुलाई हटाएरै छाड्ने प्रतिबद्धता जनाएको छ ।

फुटपाथ अतिक्रमणको समस्या समाधान गर्ने, सडकमा भएका पोल तथा भित्ताहरुमा टाँसिएका पोस्टरहरु निकाल्ने र फेरि टाँस्न नदिने लगायतका काममा नगर प्रहरी व्यस्त छ । यसै सन्दर्भमा ललितपुर महानगरपालिकाभित्रका सडक सफा, सुन्दर र व्यवस्थित राख्न नगर प्रहरीले गरिरहेको प्रयासबारे नगर प्रहरी बल प्रमुख सीताराम हाछेथुसँग उज्यालो सहकर्मी मल्लिका थापाले कुराकानी गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाभित्रका सडक सफा र सुन्दर बनाउन के गर्दै हुनुहुन्छ ?

नगर प्रहरीले सुरुमा ललितपुर महानगरपालिकामा अवैध रूपमा राखिएका होर्डिङ बोर्ड निकाल्ने काम गरिरहेको छ । विशेष गरेर जाँडरक्सीको विज्ञापन भएका, अश्लिल चित्रहरु भएका होर्डिङ बोर्ड हटाइरहेका छौँ ।

यस्तै पुराना र बिग्रिएका होर्डिङ बोर्डहरु जसले सहरलाई नै कुरुप बनाइरहेका छन्, त्यस्ता बोर्ड निकाल्ने काम भइरहेको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको सहर स्वच्छ, सफा र सुन्दर बनाउने योजना र निर्देशनअनुसार नियम विपरीत राखिएका बोर्डहरु हटाउन थालिएको हो । अब सकेसम्म डिजिटल बोर्डमात्र राख्न दिइनेछ । अहिलेसम्म २२ ट्रकभन्दा बढी होर्डिङ बोर्ड निकालि सक्यौँ, अब दुई हप्ताभित्र महानगरपालिकाको सबै क्षेत्रमा रहेका होर्डिङ बोर्ड हटाइ सक्छौँ ।

सहर सफा बनाउने अभियानमा हुनुहुन्छ, नगर प्रहरीले घर-घरबाट सडकमा फोहर फाल्नेलाई निगरानी गर्दैन ?

महानगरलाई सफा, सुन्दर र सुरक्षित बनाउन नगर प्रहरीले पाएका अधिकार प्रयोग गरेर सुधारको प्रयास हुन्छ ।

फोहर व्यवस्थापनका लागि प्रयास पक्कै नै गरिन्छ । योसँगै सम्बन्धित निकायसँग सहकार्य गरी जथाभाबी लत्रिएका तार व्यवस्थित बनाउने पहल पनि गर्दैछौँ । सडकमा गाडी गुडाउन अफ्ठ्यारो हुने गरी, सहज रुपमा पैदल हिँड्न नसक्ने गरी थुपारिएका निर्माण सामग्री हटाउने योजना पनि छ । सडक पेटी हस्तक्षेपमुक्त अभियान त चलिरहेकै छ।

सडक पेटीमा राखिएका पसल हटाउने क्रममा नगर प्रहरी वरिपरि हुँदा पसल हटाएजस्तो गर्ने अनि नहुँदा फेरि राख्ने पनि देखिन्छ नि ?

फुटपाथमा सडक मिचेर छेउमा पसल राख्नेमा ८० प्रतिशतले भनेको मानेका छन्, अब २० प्रतिशतलाई हटाउन बाँकी छ । अभियान अन्तर्गत पहिलो चरणमा हामीले दुई महिना सम्झाइ–बुझाइ गर्‍याैँ । दोस्रो चरणमा एक महिना जरिबानासहित कारबाही गर्छौँ । त्यसपछि पनि नमाने तेस्रो चरणमा हामी सामान जफत गर्ने योजनामा छौँ । 

हामीले जरिबाना तिराउन थालि सक्यौँ । साइकलमा पसल गर्नेलाई दुई हजार रुपैयाँ र ठेलागाडामा पसल गर्नेलाई तीन हजार रुपैयाँ जरिबाना गरिने छ । यस्तै ढक तराजु राख्नेलाई एक हजार रुपैयाँ तिराउँछौँ । यसैगरी सामानको मूल्यअनुसार कारबाही अघि बढाइने छ । तर हामी कसैको चित्त दुखाउने छैँनौँ । पहिले जस्तो सामान खोस्ने, लठ्ठीले पिटेर भगाउने हामी गर्दैनौँ । बरु नमस्कार गरेर सम्झाइ–बुझाइ गरी वैकल्पिक व्यवस्थाका लागि सल्लाह/सुझाव दिने काम गर्छौँ ।

पैदल यात्रीले फुटपाथमा सजिलै हिँड्न पाऊन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । योसँगै सडकमा गाडी व्यवस्थापनमा पनि नगर प्रहरीले सघाउँछ । 

गाडी व्यवस्थापनका लागि ट्राफिक प्रहरी हुँदा हुँदै नगर प्रहरी किन ?

हाम्रो सोचाइमा नगर प्रहरी भनेको सडक पेटीमा राखेको पसल हटाउने प्रहरी हो भन्ने छ । केही समय अघिसम्म मैले पनि यस्तै सोचेको थिएँ तर नगर प्रहरीको काम धेरै रहेछ, बल्ल थाहा पाएँ । सहर सफा राख्ने, ट्राफिक व्यवस्थापन गर्ने, सम्बन्धित निकायसँगको समन्वयमा दमकल व्यवस्थापन गर्ने, ढल व्यवस्थापन गर्ने लगायतका थुप्रै काम नगर प्रहरीको नै हो ।

अहिले ललितपुर महानगरपालिकाभित्रका मुख्य चोकमा ट्राफिक प्रहरीसँगै नगर प्रहरीलाई पनि डिउटीमै खटाइएको छ । उनीहरुलाई म आफैँले आफूसँग भएको अनुभव र जानकारीको आधारमा ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम पनि दिइसकेँ । सडक र सवारी व्यवस्थापनमा यसले पक्कै पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई विश्वास छ । 

ट्राफिक प्रहरी भएर काम गर्दा र नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर काम गर्दा कस्तो अनुभव बटुल्दै हुनुहुन्छ ?

सभ्य सहर निर्माणका लागि जिम्मेवारी थपिएको महशुस भएको छ । ट्राफिक प्रहरी हुँदा सडकमा सवारी व्यवस्थापनका लागि खटिएको थिएँ । अहिले पूरै सहर सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन व्यस्त छु । पहिले ट्राफिक प्रहरी हुँदा अधिकार पनि कम थियो, अब सहरमा भएका विकृति र विसङ्गति हटाउन नगर प्रहरीसँग अधिकार हुन्छ, म भरपूर यसको प्रयोग गर्छु, कानुन मिच्न कसैलाई दिने छैन ।

परिवर्तन हुन थालिसकेको छ, यसलाई निरन्तरता दिन जरुरी छ । यसको लागि सबै जनाको साथ र सहयोगको मलाई खाँचो छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया