सुनाकोठीमा सडक बन्द गरी भइरहेकाे आन्दोलन स्थगित

'तिहारलगत्तै ठेकेदारले काम नगरे फेरि आन्दाेलन गर्छाैँ'

 कात्तिक २४, २०७७ सोमबार १६:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिका २७ काे सुनाकोठीका स्थानीयवासीन्दाले आन्दोलन स्थगित गरेका छन् । साेमबार ललितपुर महानगरपालिका वडा नम्बर २६ र २७ का वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुनाकोठी सडक सङ्घर्ष समितिको उपस्थितिमा भएको छलफलले तिहार पर्व नजिकिएको भन्दै आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

सुनाकोठीका स्थानीयहरू ठेकेदारले सडक कालोपत्रे गर्ने काम समयमै नगरेको भन्दै गएको १६ गतेदेखि आन्दोलनमा थिए । तर नजिकिएको पर्व तिहारलाई लक्षित गरी सडक प्रयोगकर्तालाई सहज रुपमा यात्रा गराउने उद्देश्यले आन्दोलन स्थगित गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले विज्ञप्ति निकालेर मङ्गलबारदेखि सडक बन्द नगर्ने निर्णय भएको जनाएको छ ।

तर तिहारलगत्तै ठेकेदारले काम नगरे फेरि थप सशक्त आन्दोलन गर्ने वडा नम्बर २७ का अध्यक्ष बाबुराज महर्जनले बताउनुभयो । सडकमा लामो समयसम्म कालोपत्रे नहुँदा स्थानीयवासीको दैनिक जीवन र स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै सुनाकोठी सडक सङ्घर्ष समितिको अगुवाइमा सडक बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम सुरु भएको थियो ।

सुनाकोठीका स्थानीयवासी राजन महर्जनका अनुसार केही दिनको दबाबपछि सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेल झारेर काम पनि अघि बढाएका छन् । ठेकेदारले सडक विस्तारका लागि भनेर भत्काइएको सडक नबनाएर अलपत्र छाडेपछि स्थानीयवासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक विस्तारको जिम्मा शैलुङ कन्स्ट्रक्शन जेभीले पाएको छ । ठेक्का लागेको ६ वर्ष बितिसक्दा पनि सडक विस्तार सकेर कालोपत्रे हुन सकेको छैन । आठ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भएकाे छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटीसमेत रहेका कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारीको बेवास्ताका कारण समस्या भएको स्थानीयवासीले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया