प्रचण्ड बालुवाटारबाट फर्के लगत्तै धुम्बाराहीमा अनाैपचारिक छलफल सुरु

 कात्तिक २५, २०७७ मंगलबार १६:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर धुम्बाराही पुग्नुभएको छ । धुम्बाराहीमा बैठक बस्नुअघि भएको उहाँहरुको भेटमा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै अनाैपचारिक छलफलमा सहभागी हुन प्रचण्ड पार्टी मुख्यालय धुम्बाराहीमा पुग्नुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो । छलफलमा प्रचण्डसहित पाँच जना सचिवालय सदस्य सहभागी छन् । 

मङ्गलबार नै स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले खुमलटार पुगेर दुई अध्यक्षले सहमति गरेर मात्रै सचिवालय बैठक डाक्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओली निकट मानिने उहाँले दुई अध्यक्षबीच छलफल गरेर एजेण्डा तय गरेर बैठक बस्नु उपयुक्त हुने प्रस्ताव गर्नुभएको हो ।

नेता पोखरेलले भेट्नुभएको केहीबेरमै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्ड अहिले सचिवालय बैठकमा सहभागी हुन धुम्बाराही पुग्नुभएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न सहमति जनाउन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी मुख्यालय धुम्बाराहीमा औपचारिक सचिवालय बैठक आह्वान गरेको हो ।

गएको शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकले सहमतिका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई लिखित पत्रसहित भेट गर्ने निर्णय गरेको थियो । त्यसै निर्णयअनुसार अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई भेटेका थिए । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया