ओलीविरुद्ध संगीन आरोपसहितको प्रचण्डको प्रस्तावले नेकपा एकता गम्भीर मोडमाः शंकर पोखरेल

 कात्तिक २९, २०७७ शनिबार ९:७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत भएको एकल प्रस्ताव फिर्ता गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।

हिजोको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोपसहित प्रस्ताव पेस गर्नुभएको भन्दै उहाँले त्यो प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने बताउनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले तत्काल एकल प्रस्ताव फिर्ता गरेर एकताको मर्मअनुसार छलफललाई अघि बढाउन आग्रह गर्नुभएको छ ।

उहाँले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावना विपरीत सचिवालय बैठकमा प्रथम अध्यक्षविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत भएसँगै पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति भएको समेत बताउनुभएको छ । 

उहाँले लेख्नुभएको छ, – ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरीत सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पङ्क्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया