नेकपा विवादः भोलिको सचिवालय बैठक स्थगित गर्न प्रचण्डसँग महासचिव पौडेलको प्रस्ताव

 मंसिर २, २०७७ मंगलबार १५:७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले भोलि बस्ने भनिएको सचिवालय बैठक सार्न प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान भएको भेटवार्तामा महासचिव पौडेलले भोलिको बैठक सार्ने प्रस्ताव गर्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच भोलिको सचिवालय बैठक र पार्टीभित्रको आन्तरिक विवादबारे छलफल भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेललाई भेट्न खुमलटार पठाउनुभएको स्रोतले जनाएको छ । गएको कार्तिक २७ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको माग छ । प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै उनीहरुले फिर्ता नलिए बैठक नै नबस्ने बताइरहेका छन् ।

अध्यक्ष प्रचण्डले एकल रुपमा राजनीतिक प्रतिवेदन प्रस्ताव गर्नुभएको भए पनि अरु ४ जना सचिवालय सदस्यहरुले त्यो प्रस्ताव सामूहिक रहेको प्रतिक्रिया दिएका छन् । यसअघि यसबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले विभिन्न पक्षसँग छलफल गर्नुभएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर उहाँले प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्न सक्ने संकेत गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया