बिचौलिया हट्ने, यात्रु नठगिने र व्यवसायीले कमाउने

 मंसिर १०, २०७७ बुधबार २०:३:२१ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ – यातायात व्यवस्था विभागले निजी क्षेत्रका यातायात व्यवसायीलाई अनलाइन प्रविधिमार्फत नियमन गर्ने प्रणालीमा आबद्ध हुन आह्वान गरेको छ । विभागका निर्देशक लोकनाथ भुषालले सार्वजनिक यातायात सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि विभागले सुरु गरेको अनलाइन टिकेटिङ मनिटरिङ सिस्टम (ओटीएमएस) मा आबद्ध हुन व्यवसायीलाई आह्वान गर्नुभएको हो ।

नेपालको यातायात क्षेत्रको विकासका लागि हुँदै आएका प्रयासहरू मध्य यस प्रणालीको सुरुवात एउटा महत्त्वपूर्ण कदम भएको उहाँले बताउनुभयो । नेपालमा पहिलोपटक सार्वजनिक यातायात अनलाइन प्रविधिमार्फत नियमन गर्ने प्रणाली ओटीएमएस सुरु भएको छ । विभागका निर्देशक भुषालले मध्यम तथा लामो दुरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद/बिक्री निर्देशका २०७७ अनुसार नै प्रणाली सुरु गरिएको बताउनुभयो ।

सार्वजनिक यातायातमा टिकट खरिद/बिक्रीमा रहेका विकृति हटाउनका लागि प्रणालीले सहयोग गर्ने विश्वास लिइएको छ । प्रणालीमार्फत यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत नियामक निकायले कार्यालयबाट नै सवारीसाधनको नियमन गर्न सक्ने छन्।

के हो ओटीएमएस ?

यातायात व्यवसायीले मध्यम तथा लामो दुरीको गाडी सञ्चालन गर्दा अनलाइन टिकट बिक्री गर्ने र यसरी बिक्री गर्दा उनीहरूले कसरी गरिरहेका छन् भनेर यातायात व्यवस्था विभागले अनुगमन गर्ने संयन्त्र नैअनलाइन टिकेटिङ मनिटरिङ सिस्टम ओटीएसएस हो । विभागका अनुसार यस प्रणालीमा आबद्ध भएपछि यातायात व्यवसायीले गर्नुपर्ने दुई वटा काम छन्, अनलाइन टिकट बेच्ने र अनलाइन टिकट बेच्न प्रयोग गर्ने सफ्टवेयर विभागले चलाउने ओटीएमएसमा कनेक्ट गर्ने । त्यसपछि यातायात कम्पनी प्रणालीमा आबद्ध भएपछि सार्वजनिक सवारीसाधन कुन रुटमा, कति बजे छुट्ने, कति यात्रु र कसले टिकट काटे, यात्रुको सम्पर्क नम्बरसमेत जानकारी पाउन सकिन्छ।

सार्वजनिक यातायातमा यात्रुको सहज पहुँचका लागि यस प्रणालीको विकास गरिएको हो । यस प्रणालीमार्फत काम गर्दा यातायात व्यवसायीलाई पनि फाइदा छ । बिचौलियाको समस्या समाधान हुन्छ । कति टिकट बिक्री भयो, त्यो सबैको रेकर्ड हुन्छ । त्यसैले व्यवसायीहरूले कमाएको शतप्रतिशत आफ्नो खातामा पाउने छन् । यसैगरी यात्रुलाई सस्तो, सजिलो र सुरक्षित यात्रा गराउन विभागको जिम्मेवारी भएकाले नियमनकारी निकायको रुपमा विभागले काम गर्छ । आफ्नो जिम्मेवारी पूरा गर्न पनि विभागले गाडी चढेका यात्रुको नाम, ठेगाना, यात्रुको सङ्ख्यालगायतको जानकारी यस प्रणालीमार्फत सजिलै पाउँछ । यदि कतै दुर्घटना भयो भने पनि यात्रुको बारेमा जानकारी पाउन सजिलो हुन्छ ।

यातायात क्षेत्रका विद्यमान समस्या र ओटीएमएसको प्रभावकारिता

यातायात क्षेत्रमा टिकटको बढी पैसा लिने, भनेको ठाँउबाट टिकट नपाइने, पैसा तिर्दा पनि टिकट नपाइने, यात्रु असुरक्षित भएको लगायतका समस्या तथा विकृति छन् । अहिलेको अवस्थामा कोरोनाको जोखिम मोलेरै भिडभाड गरी टिकट काट्नु पर्ने बाध्यता पनि छ । केही हदसम्म यस्ता समस्याको समाधानका लागि यो प्रणाली ल्याइएको हो ।

यसका लागि यातायात व्यवसायीले आफ्नो सफ्टवेयरमा नेपाल सरकारले तोकेको भाडादर राख्नुपर्ने हुन्छ । सरकारले सबै रुटको भाडादर तोकेर राखेको छ । त्यसभन्दा बढी लिएको पाइएमा सफ्टवेयरमार्फत थाहा भइ हाल्छ र तत्काल नियमअनुसार कारबाहीसमेत गरिने व्यवस्था छ ।

यात्रुलाई के फाइदा ?

सार्वजनिक यातायात व्यवस्थापनका क्रममा विभागले सुरु गरेको अनलाइन टिकेटिङ मनिटरिङ सिस्टम (ओटीएमएस) लागु भएसँगै यात्रुले घरमै बसेर टिकट किन्न पाउने हुँदा समयको बचत हुने भएको छ ।

यस्तै बसपार्क तथा टिकट काउण्टरमा जाने/आउने खर्च बच्छ भने तोकिएको भाडादरमा नै टिकट खरिद गर्न सक्ने भएकाले ठगिने सम्भावना हुँदैन । सुरक्षाका हिसाबमा पनि दुर्घटना भएमा यात्रुको पहिचान सजिलै गर्न सकिने भएकाले उद्धार गर्न पनि सजिलो हुन्छ । 

विभागको आउँदा योजना 

अहिले लामो तथा मध्यम दुरीका लागि यो व्यवस्था लागू गरिएको छ । छोटो दुरीका गाडीमा यस्तो व्यवस्था व्यावहारिक नभएका कारण यो लागू गरिएको छैन । यद्यपि सबैतिर सम्भव भएसम्म प्रविधिमैत्री बनाउने विभागकाे तयारी छ । निजी क्षेत्रका बस सञ्चालक तत्कालका लागि यस प्रणालीमा आबद्ध भएर काम गर्न तयार भएका छैनन् ।

कोरोनाका कारण लामो समयसम्म गाडी चलाउन नपाउँदा आर्थिक हिसाबमा मर्कामा परेको भन्दै उनीहरूले अहिले नै यस प्रणालीमार्फत काम गर्न नसक्ने बताएका हुन् । विभागका अनुसार प्रविधिमैत्री बनाउन सुरुमा केही खर्च पनि लाग्छ । उनीहरूले यस कामलाई सकारात्मक रूपमा नै लिएका छन् र छिटै निजी क्षेत्रका सार्वजनिक गाडीमा पनि यस प्रणाली जडान हुनेमा विभाग विश्वस्त छ ।

अहिले नै ३७ वटा बस व्यवसायी यस प्रणालीमा आबद्ध भइसकेका छन् । विशेषगरी पर्यटन क्षेत्रमा चल्ने गाडी ओटीएमएसमा आबद्ध छन् । विभागले सबै व्यवसायीलाई समेट्ने गरी कार्ययोजना बनाइरहेको छ । आउने दिनमा नेपालको सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउन थप योजना र प्रयासहरू भइरहने विभागले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • cb gurung

    Nov. 26, 2020, 6:40 a.m.

    मेरो विँगर बुटवल काठमान्डु रुट मा चलाउन पश्चिम यातायात कम्पनी मा रू पाँच लाख जमा गरें । टिकट काउन्टर ले आफ्नो अथवा पहुँचवाला को गाडी मात्र नम्बर हाल्छ । अरु को गाडी लाईचाहीं पेसेन्जर नहुने टाईम दिन्छ । काउन्टर गएर डिजल खर्च मात्र हुन्छ । यस समस्या सबैलाई थाह छ तर, समाधान गर्ने कसले ?

  •  0 Reply

तपाईको प्रतिक्रिया