बादी समुदायका किशोरीको गुनासो : १२ कक्षासम्म त पढ्न पाइयो, त्यसपछि कसरी पढ्ने ?

 मंसिर १२, २०७७ शुक्रबार ११:४४:२ | इन्द्रसरा खड्का
unn.prixa.net

‘आमासँग मादल बोकेर सडकमा हिँडेकी मलाई उठाएर एकै पटक काठमाण्डौ ल्यायो । कति खुसी थिएँ । शब्दमा कसरी भनौँ ? महलभित्र पसिसकेपछि उस्तै सपना देखायो । म आफैंले पनि देखेँ । तर अब सपना नै पूरा नहुने भयो’ मलिन अनुहार बनाउँदै उहाँले आफ्नो व्यथा पोख्नुभयो ।

सुर्खेत रामघाटकी निमा बादी (नाम परिवर्तन) अहिले काठमाण्डौमा कक्षा ११ मा पढ्नुहुन्छ ।  डाक्टर बन्ने सपना बोकेकी निमा विज्ञान विषय लिएर पढिरहनुभएको छ ।  किताबको फोटोमो सेतो कोट लगाएको डाक्टर देखेर प्रभावित हुनुभएकी निमाले आफू पनि त्यस्तै बन्ने सपना बन्नुभयो । त्यही अनुसार मेहनत पनि गर्नुभयो । 

उहाँको पढाइ पनि राम्रो छ । तर, उहाँलाई पढाउने संस्थाले कक्षा १२ भन्दा माथि पढाउन नसक्ने बताएपछि उहाँ अब के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । ‘जति तिमी पढ्न चाहन्छौ त्यतिसम्म पढाइदिन्छु भनेको संस्थाले नै हात झिक्ने कुरा गर्दा मेरो सपना अधुरै रहने भयो । अहिले ११ को परीक्षा चलिरहेको छ, तर मलाई १२ पछिको चिन्ता लागिरहेको छ,’ निमाले भन्नुभयो । 

बादी समुदायका किशोरीहरुलाई पढाइदिने भन्दै एक संस्थाले २०६६ सालमा निमालाई काठमाण्डौ ल्यायो । उहाँसँगै सर्खेत, रुकुम, दाङका बादी समुदायका अरु किशोरीहरु पनि थिए । उनीहरु सबैलाई भक्तपुरको सल्लाघारीमा रहेको अक्सफोर्ड माविमा कक्षा एकमा भर्ना गरियो ।

‘पेटभरि खान पाएँ, राम्रो लुगा लगाउन पाएँ, त्यसैमा विद्यालय पढ्न पाएपछि त के घरको याद आउँथ्यो र ? म त, मेहेनत गरेर पढ्न थालेँ’ निमाले ती दिन सम्झनुभयो । त्यो संस्थामा निमा जस्तै बादी समुदायका किशोरी र बेचविखनमा परेका अरु किशोरीहरु पनि थिए । निमालाई गाउँ छोडेर आएकोमा कुनै पछुतो लागेन ।  कक्षा ९ सम्म राम्रैसँग पढ्नुभयो । तर, बिस्तारै संस्थाले आफू र अरु किशोरीहरुलाई गर्ने व्यवहार निमालाई मन पर्न छोड्यो ।

संस्थाबाट निस्केर घर फर्कंदा

पहिले सानो छँदा के राम्रो, के नराम्रो निमालाई थाहा थिएन । बढ्दै जाँदा होस्टेल भित्रैका कर्मचारीले गर्ने व्यवहार उहाँलाई मन परेन ।  ‘हाम्री आमाले नाचेर, मागेर खानुभयो । पेटकै लागि यौन व्यवसाय पनि अपनाउनुभयो । हामीलाई पनि बिस्तारै उस्तै नजरले हेर्न थाल्दा बस्नै मन लागेन’ निमाले दुःखी हुँदै भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई दुर्व्यवहार के हो थाहा थिएन । जब म बुझ्ने भएँ, त्यो संस्थाका मान्छेले गर्ने व्यवहार मलाइ मन परेन । पढाइ दिने नाममा किशोरीहरुको शोषण हुन्थ्यो । मलाई यो कुरा चित्त बुझेन ।’ संस्थाभित्रै कर्मचारीले गर्ने व्यवहार मन नपरेपछि निमासँगै बादी समुदायका अरु किशोरीहरु निस्केर आ-आफ्नो घर फर्किए । 

निमा घर गएको एक वर्षपछि अर्को संस्थाबाट फोन आयो । त्यो संस्थाले कक्षा १२ सम्म हामी पढाइदिन्छौँ भनेपछि निमा फेरि फर्केर काठमाण्डौ आउनुभयो । अहिले उहाँ त्यही संस्थाको सहयोगबाट कक्षा ११ मा पढ्दै हुनुहुन्छ ।

१२ कक्षाको सर्टिफिकेट लिएर कहाँ जाने ?

रुकुमकी सपना बादी (नाम परिवर्तन) पनि कक्षा ११ मा पढ्नुहुन्छ । घरमा आर्थिक अवस्था कमजोर भएकाले अब कसरी पढ्ने भन्ने चिन्ता उहाँलाई पनि छ । ‘दाइ भारतमा मजदुरी गर्नुहुन्छ, आमाबुवा गाउँमा गएर उसैगरी गाउँदै नाच्दै पेट पाल्नुहुन्छ । कसरी मलाई पढाउन सक्नुहुन्छ,’ सपनाले भन्नुभयो । 

सपनाले भन्नुभयो, ‘गाउँमा डिग्री गरेकाहरु त काम नपाएर बसिरहेका छन् । हामीले १२ कक्षाको सर्टिफिकेट लिएर के गर्नु ?’ निमाले थप्नुभयो, ‘म त फर्केर जाने ठाउँ पनि छैन । न आफ्नो घर छ, न त जग्गा नै । भाइ बहिनी पनि यस्तै संस्थाले पढाइदिन्छु भन्दै पोखरा कता, कता लगेको छ । अब फर्केर कहाँ जानु ?’​ निमाकी आमा बैदेशिक रोजगारीको सिलसिलामा कुबेतमा हुनुहुन्छ । बुवाको निधन भइसक्यो । मामाघरमा बस्दै आएकी उहाँलाई अब फर्केर कसको घर जाने भन्ने थप पीडा छ ।

बादी समुदायलाई हेर्ने नजर उस्तै

निमा जातलाई लिएर मान्छेको हेर्ने नजर अहिलेसम्म उस्तै रहेको बताउनुहुन्छ । ‘गाउँमा मात्र नभइ काठमाण्डौमा पनि हामीमाथि जातकै आधारमा विभेद हुन्छ । हाम्रा आमा बज्यैको पालामा झन् कस्तो थियो होला ?’ निमाले भन्नुभयो ।

विद्यालयदेखि, होस्टेलमा पनि बादी भनिसकेपछि हामीलाई हेर्ने नजर र गरिने व्यवहार नै फरक हुन्थ्यो । निमा स्कुलमा पढ्दा एउटा मान्छेले तीन दिनसम्म पच्छ्यायो ।  ‘चिनजानै नभएको मान्छेले किन पच्छ्याइरहेको होला यसरी सोच्दै थिएँ । उसले त मलाई हैन मेरो जातलाई हेरी नकरात्मक दृष्टिले पच्छ्याएको रहेछ । त्यसपछि त त्यो बाटो नै हिँड्न छोडेँ’ निमाले जातकै आधारमा आफूमाथि गरिएको दुर्व्यवहार सुनाउनुभयो । 

‘कुनै ठाउँमा आफ्नो परिचय दिँदा नाम मात्रै भन्छु । कतिपयले थर पनि सोध्छन् । बादी भन्‍नेबित्तिकै नाक खुम्च्याउँछन्’ निमाले भन्नुभयो ।

बेचिएका दिदीहरु

सानैमा निमासँगै खेल्ने दिदीबहिनीहरु अहिले कहाँ छन् भन्ने पत्तो छैन । निमाकै ठूलीआमाले छोराछोरी पाल्न गाह्रो भएको भन्दै बेचिदिनुभयो । कहाँ, कसलाई, किन बेचियो भनेर सोधीखोजी गर्ने कोही नहुँदा दिदीबहिनीहरु बेचिनुपरेको निमा सम्झनुहुन्छ । 

‘मेरो आमालाई पनि छोरी बेचिदे यिनीहरुलाई पालेर काम छैन भनेको आफ्नै कानले सुनेकी हुँ । धन्न मेरी आमाले हामी चारजना भाइबहिनीलाई बेच्नुभएन’ उहाँले ती दिन सम्झनुभयो । निमा भन्नुहुन्छ, ‘सँगै खेलेका दिदीबहिनीहरुको अहिले कस्तो याद आउँछ ? कहाँ छन् होला । यस्तै समस्या भोगेका हामीलाई अझै यो समाजले थप पीडा दिन छोडेको छैन ।’  

निमा सानी हुँदा सुर्खेतको छिन्चुबाट बज्यै र आमासँग सुल्पा, मादल बोक्दै दैलेख अछाममा पुग्नु हुन्थ्यो ।  निमा भन्नुहुन्छ, ‘आमा बज्यैले गीत गाएको, नाचेको हेर्नेहरु कतिले पैसा, कतिले चामल त कतिपयले भात, रोटी खान दिन्थे । अब पढ्न पाइएन भने त मेरो जीवन पनि यो भन्दा के फरक होला र ?,’ 


 

अन्तिम अपडेट: पुस १५, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया