म्याराडाेना : फुटबलका 'जिनियस', जसलाई कमजाेरीले पनि पछ्याइ रह्याे

 मंसिर ११, २०७७ बिहिबार २०:४९:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अद्भुत, बदनाम, असाधारण, प्रतिभावान् र रिसाहा स्वभाव । डिएगो अरमान्डो म्याराडोना । फुटबलका एक यस्ता महानायक जसमा कैयौँ कमजोरी पनि थियो । 

फुटबलका सबैभन्दा प्रतिभावान् खेलाडीमध्ये एक, अर्जेन्टिनाका म्याराडोनासँग प्रतिभा, शोख, हेराइ र गतिको एक यस्तो भण्डार थियो जसबाट उनी आफ्ना प्रशंसकलाई मन्त्रमुग्ध गरिदिन्थे । 
उनले आफ्नो विवादित कदमका कारण आफ्ना प्रशंसकलाई रिस पनि दिलाए र दुःखी पनि बनाए ।

म्याराडोनाले आफ्नो विवादित ‘ह्याण्ड अफ गड’ गोलबाट सबैलाई हैरानमा पारे र मैदानबाहिर लागुऔषध र नसा जस्ता विषयमा पनि मुछिए । 

छोटा कदका म्याराडोनाः फुटबलका ‘जिनियस’  

म्याराडोनाको जन्म आजभन्दा ६० वर्षअघि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एक गरिब बस्तीमा भएको थियो ।  

गरिबीसँग लड्दै उनी युवा अवस्थासम्ममा फुटबलका सुपरस्टार बनिसकेका थिए । केही त उनलाई ब्राजिलका महान् फुटबलर पेलेभन्दा पनि सानदार खेलाडी मान्थे ।  

म्याराडोनाले ४९१ खेलमा कुल २५९ गोल गरेका छन् । यतिमात्र होइन, एक सर्वेक्षणमा उनले पेलेलाई पछाडि पारेर ‘२०औँ शताब्दीका सबैभन्दा महान् फुटबलर’ हुने गौरव आफ्नो नाममा गरेका थिए ।

यद्यपि फिफाले भोटिङ नियम बदल्दै दुवै खेलाडीलाई सम्मानित गरेको थियो ।  

म्याराडोना विलक्षण प्रतिभाका धनी हुन्, बाल्यकालदेखि नै उनमा यी लक्षण देखिन थालेको थियो । उनले मात्र १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबल जगतमा पाइला राखेका थिए । 

कदमा छोटो र शरीरले मोटा, मात्र ५ फिट ५ इञ्च अग्ला म्याराडोना कोही समान्य खेलाडी थिएनन् ।  

म्याराडोनासँग चतुरता, गति, होसियारी हेराइ, फुटबललाई काबुमा राख्ने क्षमता र बलमाथिको नियन्त्रण गर्ने जस्ता गुण थियो, जसले कहिलेकाहीँ उनको तौलका कारण हुने समस्यालाई ढाँकछोप गरेको थियो ।

'ईश्वरको हात र शताब्दीको गोल'

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरे । तर यो उनको उतार–चढावले भरिएको अन्तर्राष्ट्रिय करियरको केवल एउटा हिस्सा देखाउँछ । 

उनले आफ्नो देशलाई सन् १९८६ मा मेक्सिकोमा भएको विश्व कपमा जित दिलाए र चार पटक प्रतियोगिताको फाइनलसम्म पुर्याए । 

सन् १९८६ को विश्व कपको क्वार्टर फाइनलमा म्याराडोनाले केही यस्तो गरे, जसको चर्चा सधैँ भइरहनेछ । 

मेक्सिकोमा क्वार्टर फाइनलको यो खेल अर्नेन्टिना र इङ्ग्ल्याण्डबीच थियो । दुई देशबीचको यो खेल पहिलेभन्दा निकै तनावपूर्ण थियो किनकि इङ्ग्ल्याण्ड र अर्जेन्टिनाबीच मात्र चार वर्षअघि फोकल्याण्ड युद्ध भएको थियो । 

२२ जुन १९८६ को सास नै रोकिदिने यो रोमाञ्चक खेलको ५१ मिनेट बितिसकेको थियो र दुवै टिमको तर्फबाट एक गोल पनि हुन सकेको थिएन । 

त्यही समयमा म्याराडोना विपक्षी टिमका गोलकीपर पिटर शिल्टनतर्फ कुदे र उनले आफ्नो हातले फुटबललाई नेटभित्र पसाए । हातको प्रयोग भएका कारण यो गोल निकै विवादमा आयो । 

फुटबलको नियमअनुसार हातको प्रयोग भएका कारण यो गोल फल थियो र यसका लागि म्याराडोनालाई पहेँलो कार्ड देखाउनुपर्ने थियो । 

तर त्यस समय भिडियो असिस्टेन्स टेक्नोलजी थिएन र रेफ्रीले यो गोललाई ठिकसँग देख्न पाएनन् । यही कारण त्यो गोलले मान्यता पायो र अर्जेन्टिनाले त्यो एक १–० ले अघि भयो । 

खेलपछि म्याराडोनाले आफूले यो गोल ‘थोरै आफ्नो शिर र थोरै भगवानको हातबाट’ गरेको बताएका थिए । त्यसपछि फुटबल इतिहासमा यो घटना सधैँको लागि ‘ह्याण्ड अफ गड’ को नामबाट दर्ता भयो । 

त्यही खेलमा यो विवादित गोलको ठिक चार मिनेटपछि म्याराडोनाले केही यस्तो गरे जसलाई ‘गोल अफ द सेन्चुरी’ भनियो ।  

म्याराडोनाले प्रहार गरेको फुटबललाई इङ्ग्ल्याण्ड टिमका पाँच जना खेलाडी र गोलकीपर शिल्टनले बचाउने प्रयास गर्दा गर्दै पोस्टभित्र छिर्याे । 

त्यस गोलको बारेमा बीबीसीका कमेन्टेटर बेरी डेभिसले भनेका थिए, ‘तपाईँले मान्नैपर्छ कि यो सानदार थियो । यस गोलको बारेमा कुनै सन्देह छैन । यिनी पूर्णरुपमा फुटबल जिनियस हुन् ।’

त्यस खेलको बारेमा म्याराडोनाले भनेका थिए, ‘यो खेल जित्नुभन्दा पनि अङ्ग्रेजलाई परास्त गर्नु थियो ।’

लागुऔषध र रक्सीमा फसे नेपोलीका हिरो  

म्याराडोनाले बार्सिलोना र नेपाेली जस्ता नाम कमाएका फुटबल क्लबका लागि पनि खेले र यी क्लबको हिरोको रुपमा चिनिए । सन् १९८२ मा उनी तीन मिलियन पाउण्डमा स्पेनको फुटबल क्लब बार्सिलोना र

त्यसको दुई वर्षपछि पाँच मिलियन पाउण्डमा इटली क्लब नेपाेलीमा आबद्ध भए । 

जब म्याराडोना हेलिकप्टरमा चढेर इटलीको सान पाओलो स्टेडियममा पुगेका थिए त्यहाँ ८० हजारभन्दा धेरै प्रशंसक आफ्ना हिरोलाई स्वागत गर्नको लागि उपस्थित थिए । 

उनले आफ्नो करियरमा सबैभन्दा राम्रो फटबल इटलीमै खेले र त्यहाँ उनले आफ्ना प्रशंसकबाट खुब प्रसिद्धि कमाए । 

इटलीमा म्याराडोनाले यति धेरै प्रसिद्धि कमाए कि उनी त्यसबाट हैरान भएका थिए । एक पटक उनले भनेका थिए, ‘यो राम्रो ठाउँ हो तर म यहाँ मुस्किलले सास लिन पाउँछु । म स्वतन्त्र भएर यताउता धुम्न चाहन्छु । म कुनै आम मानिस जस्तै हुँ ।’

यसबीचमा उनलाई कोकिनको लत लागेको थियो र उनको नाम इटलीको कुख्यात माफिया सङ्गठन क्यामोरासँग पनि जोडिएको थियो ।

सन् १९९१ मा म्याराडोना एक डोप टेस्टमा पोजेटिभ देखिए र उनलाई १५ महिनासम्म फुटबालबाट प्रतिबन्ध गरियो ।

त्यसपछि सन् १९९४ मा अमेरिकामा हुन लागेको फुटबल विश्व कपमा म्याराडोनाले प्रतिबन्धित लागुऔषध एफेड्रिन लिएको पाइएको थियो । त्यसपछि प्रतियोगितामा नै उनीमाथि प्रतिबन्ध लगाइयो ।

म्याराडोना टाइमलाइन  

१९७७ः अर्जेन्टिना भर्सेस हङ्गेरी– अन्तर्राष्ट्रिय फुटबलमा पाइला

१९८२ः बार्सिलोनामा दुई वर्ष बिताएपछि नेपोलीमा आबद्ध  ​

१९८६ः अर्जेन्टिनालाई विश्व कप जिताए   

१९९०ः अर्जेन्टिनालाई विश्व कपमा रनर अप बनाए   

१९९१ः लागुऔषध टेस्टमा पोजिटिभ भेटिएपछि १५ महिनाको प्रतिबन्ध  

१९९४ः अमेरिकामा विश्व कपको क्रममा डोप टेस्ट फेल भएपछि प्रतियोगिताबाट बाहिर   

१९९७ः तेस्रो पोजेटिभ टेस्टपछि व्यावसायिक फुटबालबाट रिटायर   

२०१०ः दुई वर्षसम्म अर्जेन्टिना टिमका म्यानेजर, विश्व कपमा अर्जेन्टिना क्वार्टर फाइनलबाट बाहिर भएपछि पदबाट अलग   

सन्नयास​पछि जिन्दगी

तेस्रो पटक पोजेटिभ पाइएपछि म्याराडोनाले आफ्नो ३७ औँ जन्मदिनमा व्यावसायिक फुटबालबाट सन्न्यास लिएका थिए । यद्यपि त्यसपछि पनि विवाद र कठिन परिस्थितिले उनलाई पिछा गर्न छोडेन ।

म्याराडोनाले एकपटक एक पत्रकारमाथि एअर राइफलबाट गोली चलाएका थिए जसका लागि उनलाई १० महिनाको जेल सजाय सुनाइएको थियो ।

कोकिन र रक्सीको लतका कारण उनले स्वास्थ्य समस्याको सामना गर्नुपरेको थियो । 

उनको तौल पनि निकै बढेको थियो र एक समय उनको तौल १२८ किलोसम्म पुगेको थियो । सन् २००४ मा म्याराडोनालाई हृदयाघात भएको थियो जसका कारण उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

मोटोपना घटाउनका लागि म्याराडोनाले ग्यास्ट्रिक–बाइपास सर्जरीसम्म गर्नुपरेको थियो । यतिमात्र नभइ, लागुऔषधको लत छुटाउनको लागि उनले सहयोग पनि लिनुपरेको थियो । 

यी सबै विवाद र समस्याका बाबजुद सन् २००८ मा म्याराडोनालाई अर्जेन्टिनाको राष्ट्रिय टिमका म्यानेजरको रुपमा तोकियो । उनलाई म्यानेजरको रुपमा कैयौँ पटक भूमिका पनि मिल्यो, जसको बारेमा मानिसहरुको राय बाँडियो र उनी लगातार कुनै न कुनै चर्चामा रहे । 

एक पटक उनको कुकुरले उनलाई ओठमा टोकेको थियो र उनले सर्जरी नै गर्नुपर्याे ।

सन् २०१८ को फुटबल विश्व कपमा उनी रुस र अर्जेन्टिना र नाइजेरियाबीचको खेल हेर्न पुग्दा उनको एक फोटो भाइरल भएको थियो । त्यस फोटोमा म्याराडोनाको जीवनशैली कति बिग्रिएको थियो भन्नेबारेमा प्रष्ट नै देखिन्थ्यो । 

रुसमा उनले एक नाइजेरियाका प्रशंसकसँग नाचे, खेल सुरु हुनुअघि आकाशमा हेरेर प्रार्थना गरे, मेसीको गोलमा अभद्र रुपमा झुमेर खुसी मनाए, खेलकै क्रममा निदाए र अर्जेन्टिनाको दोस्रो गोलपछि देखाएको व्यवहारका कारण चर्चामा बनिरहे । 

अपमानजनक, प्रेरक मनोरञ्जक, महान्, उचाइभन्दा माथि अर्थात् डिएगो म्याराडोना । एक असामान्य जीवन ।     

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया