गुल्मीको अस्लेवाका १ सय ९४ घरमा ‘एक घर एक धारा’

 मंसिर १४, २०७७ आइतबार १३:१०:१३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका अस्लेवाकी ७७ वर्षकी दुर्गादेवी पाण्डेले जीवनभर टाढाबाट पानी बोकेर गुजारा गर्नुभयो । अहिले घरमै पानी आएपछि सपना जस्तै लागेको उहाँ बताउनुहुन्छ ।

पाण्डेकै दौतरी अस्लेवा एककी ६३ वर्षीया जुनमाया अधिकारीले पनि सपौदे खोलाबाट पानी बोकेर गुजारा गर्नुभयो । ‘बुढेसकालमा घरमै पानी आउँदा खुसी नहुने कुरै भएन,’ उहाँले भन्नुभयो,‘पानी बोक्दाका ती दिन सम्झदा सपना जस्तो लाग्छ । घरमै धारामा पानी आउला भन्ने लागेकै थिएन ।’

घरमै पर्याप्त पानी आएपछि अस्लेवाका स्थानीयबासिन्दाको दैनिकी बदलिन थालेको छ । घरघरमा खानेपानी आएपछि सरसफाई, तरकारी, घरको काम र गोठमा समेत सजिलो भएको स्थानीयबासिन्दा बताउँछन् । अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजना मार्फत अस्लेवाका नागरिकको ‘एक घर एक धारा’ को चाहाना पु्रा भएको हो ।

गुल्मीको अस्लेवाका १ सय ९४ घरमा ‘एक घर एक धारा’ पुगेको छ । झण्डै दुई करोड रुपैयाँकाे लागतमा दुई वर्षमा धारा जडान गरिएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले एक करोड ९६ लाख ४२ हजार ७ सय ९८ रुपैयाँको लागतमा अस्लेवा ५, ६ र ७ मा खानेपानी आयोजना सम्पन्न गरेको छ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले अस्लेवाका एक सय ९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका इन्जिनियर प्रकाश न्यौपाने बताउनुभयो । अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजना सत्यवती गाउँपालिका वडा नम्बर एकको सबैभन्दा ठूलो खानेपानी आयोजना हो । यो आयोजनाको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गर्नुभयो ।

सत्यवती गाउँपालीकाको अस्लेवामा अरु पनि खानेपानी आयोजना छन् । गुल्मीमा २०७४ सालको तीनै तहका चुनावमा र प्रमुख दलहरुको चुनावी नारा ‘एक घर एक धारा’ रहेको थियो । यो अभियानसँगै हरेक नागरिकको भावना जोडिएका कारण पनि खानेपानीका लागि केन्द्रित रहेर काम गरिरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया