कोराेनाका कारण लैङ्गिक हिंसा बढ्यो : राष्ट्र सङ्घ

 मंसिर १६, २०७७ मंगलबार १५:११:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीले सोमबार बताएका छन् ।

कोभिड–१९ का कारण विश्वका सबै ठाउँमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्र सङ्घीय लागुऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्र सङ्घीय कार्यालय (यूनओडीसी) को अध्ययनले देखाएको छ, संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताए ।  

संस्थाको प्रत्यक्ष भिडियो सम्मेलनमार्फत महिला र बालबालिकाविरुद्धको प्रतिबद्धता नामक एक कार्यक्रममा उनले भने, 'महामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमा कमी भएको कारण महिला तथा बालबालिकाविरुद्धको लैङ्गिक हिंसाका घटना बढेको पाइएको छ ।' 

महामारी पहिले पनि महिला तथा बालिकाविरुद्ध विभिन्न खालका हिंसा भएकाे स्मरण गर्दै उनले महामारीपछि यसमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए ।  

कोभिड–१९ महामारीका समय लकडाउन र अन्य उपायहरूका कारण लैङ्गिक हिंसामा प्रचुर मात्रामा प्रभाव परेको यूएनओडीसीले जनाएको छ ।

राष्ट्र सङ्घीय महिला कार्यकारी निर्देशक फुम्जिले एमलाम्बोएनगुकाले सङ्क्रमणमा परि जीवन जोगाउन सफल अधिकांश (झन्डै ८० प्रतिशत) महिलाले यौन हिंसाको सिकार बन्नुपरेको बताइन् ।

सामाजिक तथा आर्थिक अवस्थाका कारण पनि उनीहरूले ती अपराधको सामना गर्नुपरेको तर महामारीको समयमा उनीहरूमा सामाजिक तथा आर्थिक असर अझ जटिल बनेको एमलाम्बोएनगुकाले बताइन् । 

कोभिड–१९ का कारण थप ७० लाख महिला तथा किशोरीहरू जटिल खालको गरिबीतर्फ धकेलिएको र महिला तथा बालबालिका बेचबिखन मौलाएको उनको दाबी थियो ।

अप्रिलमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले विश्वव्यापी घरेलु हिंसा ‘रोक्न’ महिलाको सुरक्षालाई प्राथमिकता दिन आग्रहसमेत गर्नुपरेको थियो ।

अहिलेसम्म झन्डै एक सय ५० राष्ट्रले महासचिव गुटेर्रेसको आग्रहलाई सम्मान गर्दै सङ्क्रमित महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेको बताइएको छ । यसलाई यूएनओडीसी, राष्ट्र सङ्घीय महिला इकाइ र अन्य सहयोगीले पनि पालना गरेकाे बताइएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया