त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थितिमै पढाइको तयारी

 मंसिर २१, २०७७ आइतबार ६:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ ।  त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयपछि  कोरोना संक्रमणका कारण रोकिएको पढाइ फेरि सुरु हुन लागेको हो। 

त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जनाएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधि अपनाइनेछ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर पेशल दाहालका अनुसार पालिकाको स्वीकृतिमा भौतिक रुपमा उपस्थित भएर क्याम्पस सञ्चालन गर्न पाइन्छ । तर कोरोनाको जोखिम भएमा अनलाइनलगायतका वैकल्पिक विधिलाई निरन्तरता दिनुपर्छ । 

‘कोरोनाको जोखिम नभएका ठाउँमा भने वैकल्पिक माध्यमबाट पढाउनुपर्ने आवश्यकता नै रहँदैन । भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति नदिएको अवस्थामा भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्छ । जसरी भए पनि नियमित कक्षा भने सञ्चालन गर्नैपर्छ । त्यही भनेर देशभरका क्याम्पसलाई निर्देशन दिएका हौँ’ दाहालले भन्नुभयो । 

अहिले पनि जुम्ला, भोजपुर, इलाम, तेह्रथुमलगायतका ठाउँमा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन  भइरहेका छन् । ती ठाउँमा पालिकाहरुले स्कुल समेत सञ्चालनका लागि अनुमति दिएका छन् । अन्य पहाडी भेगमा पनि कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ । त्यस्ता ठाउँमा पालिकासँग स्वीकृति लिएर भौतिक रुपमा नै कक्षा सञ्चालन गर्न सकिन्छ ।

काठमाण्डौ आज भोलिमै पालिकासँग समन्वय गरेर, सार्वजनिक सूचना निकालेर कक्षा सञ्चालन गरिहाल्न उहाँको अनुरोध छ । कोरोना सुरु हुनुभन्दा पहिला जसरी सामान्य अवस्थामा पढाइ हुन्थ्यो, त्यसैगरी कक्षा सञ्चालन गर्न भनिएको उहाँले बताउनुभयो । तर स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने कुरालाई ख्याल गर्नुपर्छ । सरकारले तोकेको सबै सुरक्षा मापदण्ड अपनाएर मात्रै कक्षा सञ्चालन गर्न पाइन्छ । 

‘क्याम्पस सञ्चालनका लागि थप समय आवश्यक छैन ।  डेस्क, बेन्च छँदैछन् । शिक्षकहरु यसअघि नै क्याम्पसमा हाजिर भइसक्नुभएको छ । विद्यार्थीहरु पनि पढ्नका लागि तयार छन् भने किन ढिलाइ गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।

कोरोनाको जोखिम बढे फेरि बन्द गर्न सकिने

अहिले कोरोनाको जोखिम कम भयो भनेर कक्षा सञ्चालन गरिएको ठाउँमा पछि फेरि जोखिम नै हुँदैन भन्ने होइन । भौतिक रुपमा शिक्षक र विद्यार्थी दुवै उपस्थित भएर कक्षा सञ्चालन गर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । 

स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । सावधानी अपनाउँदा, अपनाउँदै पनि कोरोना संक्रमण भएमा पालिकाले आफ्नै निर्णयमा सके र सम्भव भएमा भौतिक रुपमा उपस्थित भएर र नसके अथवा सम्भव नभए वैकल्पिक माध्यमबाट अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । 

अहिले सहुलियत दरमा इन्टरनेट लगायतको सुविधा उपलब्ध भएकाले कुनै पनि बहानाबाजी गर्न नहुने उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका केही परीक्षा छठपछि सञ्चालन गरेको छ । बाँकी परीक्षा आउँदो २८ गतेदेखि सुरु गर्ने तयारी छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न लागिएकोे जानकारी दिएको छ । 

२८ मंसिरमा विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन संकायको चौथो वर्षका परीक्षा हुँदैछन् । पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने  कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया