पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
कञ्चनपुर – प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको काम शुरू भएकाे छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पक्षी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको काम शुरू गरेको हो । गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् ।
राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ, सङ्घका चराविज्ञ हिरुलाल डगौराले भन्नुभयो, यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ ।
उहाँका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ । कैलाली र कञ्चनपुरमा अनुगमनको कार्य पूरा भएपछि डडेल्धुरा र बैतडीमा पनि गिद्धको गुँड तथा अवस्थाका बारेमा अध्ययन अनुगमनको कार्य हुने उहाँले बताउनुभयो ।
गिद्धका गुँड अनुगमनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको चराविज्ञ डगौराको भनाइ छ । क्यामेरा, बाइनाकुलर, टेलिस्कोप, जीपीएसको प्रयोग गरी अनुगमनको कार्य गर्छाैँ, उहाँले भन्नुभयो, यसबाट गुँड के कति छन् भन्ने जानकारी हुन्छ नै, गिद्धको सङ्ख्या यकिन गर्ने कार्य पनि हुन्छ ।
गएकाे वर्षको अनुगमनमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गरी डङ्गर, सानो खैरो, सेतो, हाडखोर, हिमाली र सुन गिद्धका गरी एक सय ४३ गुँड फेला परेका थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले डङ्गर, सानो खैरो र सुन गिद्धलाई अति सङ्कटापन्न तथा सेतो गिद्धलाई सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ ।
विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । गिद्धले आफैंले शिकार नगरी मरेका जनावरको सिनो मात्रै खाने भएकाले यसलाई अहिंसक मांसाहारी पक्षीका रूपमा लिइने गरिन्छ । सिनो खाने भएकाले यसले पर्यावरण सन्तुलित राख्नमा मद्दत पुर्याउने गर्दछ । एक सर्वेक्षणअनुसार गिद्धले सिनोको खोजीमा दैनिक एक सय किलोमिटरको रेडियसको दूरीमा उड्ने गरेको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।