ज्याला बढाउनुपर्ने माग गर्दै अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटका मजदुर आन्दोलित

 मंसिर २२, २०७७ सोमबार १६:४:४१ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटका मजदुर आन्दोलित भएका छन् । ज्याला बढाउन माग गर्दै उनीहरुले सोमबार बिहानैदेखि आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका कारण निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइट मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा काम प्रभावित भएको छ । अरुण तेस्रो सुरुङ्ग मार्ग निर्माणलगायतका ड्याम साइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्ट्रक्शनले गरिरहेको छ ।

लामो समयदेखि मजदुरहरुको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरुलाई काम नदिएको लगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै कामदारले काम रोकेका हुन् । यसअघि पनि मजदुरहरुले ज्याला बढाउन माग गर्दै काम रोकेपछि तत्कालै बढाउने सहमति भएको थियो । तर नौ महिना बितिसक्दा समेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको आन्दोलन थालेको मजदुरहरुको भनाइ छ ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले ड्याम साइटमा कार्यरत मजदुरहरुले ज्याला बढाउनुपर्ने माग गरी आन्दोलन गरेको जानकारी पाएको बताउनुभयो । बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । गएको कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्थलगत अनुगमन गर्दै अरुण तेस्रोको कामबाट सन्तुष्ट रहेको बताउनुभएको थियो ।

मकालु ५ फ्याक्सिन्दा दोभानदेखि ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका २ को पुखुवामा पावर हाउस रहनेछ । पावर हाउस भारतीय पटेल इञ्जिनिरिङ कम्पनीले काम गरिरहेको छ । अरुण तेस्रो परियोजनामा एक खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण गर्न लागिएको हो । 

यस्ताे छ मागपत्र–

अन्तिम अपडेट: चैत ३०, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया