महिला हिंसा रोक्न जिल्ला प्रशासनको प्रयास

 मंसिर २४, २०७७ बुधबार १४:०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । केन्द्रदेखि प्रदेश, जिल्ला र पालिकास्तरमा सचेतनामुलक कार्यक्रम भैरहेका छन् । विभिन्न जिल्लामा भैरहेको अभियान र महिला हिंसा रोक्नको लागि जिल्लास्तरबाट भएको प्रयासबारे प्रमुख जिल्ला अधिकारीहरुको भनाइ :

सबैसँग समन्वय गरेर काम गरिरहेका छौं

मोहनराज जोशी, प्रमुख जिल्ला अधिकारी बैतडी

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी पनि समाजमा हुने विभिन्न किसिमका विकृति विसंगतिबाट मुक्त छैन । महिलालाई हेर्ने दृष्टिकोण समान छैन ।  हुन त यो समस्या देशभरीकै हो । तर बैतडीमा सामाजिक चेतना र शिक्षाको स्तर पनि त्यति राम्रो छैन । 

बैतडीमा महिलामाथि हुने हिंसा कम गर्न जिल्ला प्रशासन कार्यालयले विभिन्न समयमा चेतनामुलक कार्यक्रमहरु गरिरहेको छ । बैतडीमा १० वटा स्थानीय तह छन् । संघीय संरचनाको तीन तहको सरकार स्थापना भएर सञ्चालन भइसकेपछि हामीले बैतडीमा रहेका पालिकाहरुसँग समन्वय गर्दै काम गरिरहेका छौँ ।

बैतडीमा बालविवाह, बलात्कार, घरेलु हिंसा लगायतका घटना अहिले पनि भइरहेका छन् । यस्ता घटना सदरमुकाम आसपासका पालिकामा भन्दा दूरदराजका ठाउँमा बढी हुने गरेका छन् । हामीले त्यस्ता घटनाहरु बढी हुने सम्भावित ठाउँहरुलाई लक्षित गरेर चेतनामुलक कार्यक्रमहरु गरिरहेका छौँ । यसका लागि जिल्लामा रहेका संघ सस्थाहरुसँग पनि समन्वय गरिरहेका छौँ । 

 जिल्लामा रहेका पालिकालाई हिंसा कम गर्न गाउँ बस्ती स्तरमा कार्यक्रम गर्नको लागि आग्रह गरेका छौँ भने हामीले पनि हाम्रो तर्फबाट सहकार्य र समन्वय गरिरहेका छौँ । स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यामहरुमा पनि सन्देशमुलक सामाग्री प्रसारण गर्ने काम गरिरहेका छौँ । यति मात्र हैन सुरक्षाकर्मी, महिला अधिकारकर्मीलगायत महिला हिंसाका मुद्दामा सरोकार राख्ने सबैसँग समन्वय गर्दै काम गरिरहेका छौँ ।

समिति बनाएर काम गरिरहेका छौँ 

रामबहादुर कुरुम्वाङ, प्रमुख जिल्ला अधिकारी बाँके 

महिला र बालबालिकाका क्षेत्रमा काम गर्न अहिले त्यति सजिलो छैन । पहिले जिल्लामा छुट्टै महिला विकास कार्यालय थियो ।  उसले महिला र बालबालिकाका क्षेत्रमा काम गथ्र्यो । तर अहिले त्यस्तो छैन । 
भन्न त महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने जिम्मा स्थानीय तहमा गयो भनिन्छ । तर पालिकाले त्यति ध्यान दिन सकेको देखिंदैन । यो विषय नै प्राथमिकतामा परेको छैन । लैंंगिक सवाल हामीले पनि प्रहरीसँगै सहकार्य गर्दै हेरिरहेका छौँ । 

हामीले एक महिना अगाडि मात्र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी, पत्रकार, गैरसरकारी संस्थालाई समेटेर लैंगिक हिंसा विरुद्धको एउटा समिति बनाएका छौँ । यो समितिले नै अहिले महिलाका क्षेत्रमा काम गरिरहेको छ ।  नोभेम्बर २५ देखि सञ्चालन भइरहेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि यो समितिले नै मनाइरहेको छ । 

अहिले पनि महिलामाथि हुने हिंसाका ५० प्रतिशतभन्दा बढी घटना बाहिर आउँदैनन् । त्यसैले हामीले जुन यो सञ्जाल बनाएका छौँ  त्यो प्रत्येक वडासम्म पु¥याउने काम गर्छाैं । जसले गर्दा प्रत्येक वडामा भएका घटना बाहिर आउने छन् । वडाले हामीलाई सम्पर्क बिन्दुका रुपमा काम गर्ने र ती सबै लैंगिक हिंसाविरुद्धका सवालहरु सबै हामीकहाँ आओस् भनेर यो रणनीति अपनाइरहेका छौँ । 

यो समितिले बालविवाह, बहुविवाह, घरेलु हिंसाका मुद्दाहरु पनि हेरेर हामीलाई सहजीकरण गर्छ । यसो ग¥यो भने जिल्लामा महिला र बालबालिकामाथि जे जस्ता घटना हुन्छन्, ती सबै बाहिर आउँछन् र उनीहरुलाई न्याय दिन पनि सजिलो हुन्छ ।

जिल्लामै अभियान चलाइरहेका छौँ

इन्द्रराय यादव, प्रमुख जिल्ला अधिकारी रौतहट 

रौतहटमा अहिले पनि बोक्सी, दाइजोको नाममा कुटपीट लगायत महिलामाथि हिंसा भइरहेका छन् । यस्ता घटना कम गर्न हामीले  मंसिर १५ गते जिल्लाका सरोकारवालासँग बैठक गरेर प्रहरी पालिका, पत्रकार, संघसस्था सबैको प्रतिनिधित्व रहने गरी एउटा समिति गठन गरेका छौँ ।

यो समितिको मुख्य उदेश्य भनेको महिला तथा बालबालिका माथि हुने हिंसा कम गर्न के के काम गर्ने भनेर कार्यायोजना तयार गर्ने हो । यसको स्रोत व्यावस्थापनको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गरिदिने र यसको स्रोत व्यावस्थापन भइसकेपछि घटना हुन नदिन चेतनामुलक कार्यक्रम गर्नेछ । यति गर्दा पनि घटना भएमा हिंसा पीडित महिला र बालबालिकालाई उद्धार गरेर सुरक्षित राख्ने काम पनि यो समितिले गर्नेछ । यसका लागि हामीले सुरक्षित आवासगृहको व्यावस्था गर्नेछौँ । 

हामीले यस्तो अभियान सञ्चालन गरिसकेपछि पक्कै पनि महिलामाथि हुने हिंसामा कमी आउनेछ भन्ने आशा गरेका छौँ । अर्को कुरा समितिले काम गर्दै जाँदा समाजमा भएका घटनाहरु पनि बाहिर आउने छन् । 
अहिले यही समितिको नेतृत्वमा जिल्लामा रहेका अरु संघ सस्थासँग समन्वय गरेर हामीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि मनाइरहेका छौँ ।

 

हिंसाको मुख्य कारण रक्सी

सन्तबहादुर सुनार, प्रमुख जिल्ला अधिकारी दैलेख

नेपालको संवैधानिक व्यावस्थामा लिंगको आधारमा कसैमाथि शोषण गरिने छैन भन्ने उल्लेख छ ।  

यदि कसैमाथि शोषण भयो भने कारबाही गरिनेछ भनेर हामीले कानुन पनि बनाएका छौँ । हामी यसैलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न अर्थपूर्ण ढंगबाट लागि रहेका छौँ । दैलेख जिल्लाको कुरा गर्नुपर्दा हामीले सबैभन्दा पहिले महिलामाथि हुने हिंसाका कारण के हुन भनेर पत्ता लगाउने र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेका छौँ । 

दैलेख जिल्लामा अहिले बालविवाह भयावह रुपमा छ । यसलाई न्यूनीकरण गर्न संस्थागत रुपमा हामीले पनि र पालिकास्तरमा बहस गर्दै आइरहेका छौँ । बालविवाह अपराध हो भन्ने कुरा गाउँ, टोल र समाजमा प्रचारप्रसारको रुपमा अभियान चलाइरहेका छौँ । बालविवाह गर्नेलाई कारबाही पनि गरेका छौं । अर्को कुरा हिंसाको मुख्य कारण जाँडरक्सी खानु रहेको छ । अहिले जिल्लामा जति पनि महिलाहिंसाका घटना भएका छन्, ती सबै रक्सीबाटै सुरु भएका छन् । रक्सीले जबरजस्ती करणी, अभद्र व्यवहारदेखि लिएर ज्यानै लिने सम्मका हिंसा भइरहेका छन् । यसबाट घरेलु हिंसा बढिरहेको छ । 

यसलाई रोक्न हामीले  हरेक पालिकामा घरेलु मदिरा बिरोधी कार्यक्रमहरु गरेका छौँ र प्रहरी, प्रशासन पालिकाहरु मिलेर घरेलु मदिरालाई निशेध गर्ने र अन्य मदिरालाई व्यवस्थापन गर्ने वा नियन्त्रण गर्ने गतिविधिहरु सञ्चालन गर्दै आइरहेका छौँ । हामीले योजनाबद्ध ढंगबाट विभिन्न पालिकामा सचेतनामुलक कार्यक्रम र स्थानीय सञ्चारमाध्यमबाट सन्देश प्रसारण गर्ने काम गरिरहेका छौँ । 

यस्तै अहिले जुन लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो अभियानलाई सशक्त बनाउन प्रशासन, नेपाल प्रहरी, पालिका र विभिन्न सरोकारवाला संघसस्थाहरुको समन्यवका साथ अगाडि बढेका छौं । 
(खुल्ला धरती, खुल्ला आकाशबाट)


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया