अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आजदेखि

 मंसिर २५, २०७७ बिहिबार १२:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फ फेस्टिभल आजदेखि सुरु हुँदैछ ।

१८ औँ संस्करणको महोत्सवको दिउँसो साढे १ बजे चत्रचित्र विकास बोर्डमा उद्घाटन हुनेछ । भुटानका चलचित्र निर्देशक एवं धार्मिक गुरु खिन्चे नोर्बु रिम्पोचेको ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’ नामक चलचित्र प्रदर्शन गरेर महोत्सवको उद्घाटन गरिने आयोजक हिमाल एशोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले जानकारी दिनुभयो ।

जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्घाटन गरिने उहाँले बताउनुभयो । यसपालि कोरोना भाइरसको जोखिमका कारण महोत्सवमा समावेश गरिएका चलचित्रलाई भने भर्चुअल विधिमार्फत प्रदर्शन गरिने छ । यसपालि १५ देशका १८ वटा विदेशी चलचित्र र १२ वटा नेपाली चलचित्र प्रदर्शन गरिनेछ ।

यी सबै चलचित्र घरमा नै बसेर नि:शुल्क हेर्न सकिने छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र किम्फको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ । यी फिल्म अपलोड गरिएको पाँच दिनसम्म हेर्न सकिने आयोजक हिमाल एशोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले जानकारी दिनुभयो ।

आउँदो सोमबारसम्म हुने महोत्सवमा समावेश भएका विभिन्न चलचित्रलाई प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम हुनेलाई दुई लाख रुपैयाँ, दोस्रो हुनेलाई एक लाख पचास हजार रुपैयाँ र तेस्रो हुनेलाई एक लाख रुपैयाँ पुरस्कार दिइने छ । यस्तै, उत्कृष्ट नेपाली चलचित्रलाई एक लाख रुपैयाँ र उत्कृष्ट वृत्तचित्रलाई ७५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

यसपालि कोभिड १९ र लकडाउन विषय वृत्तचित्र पनि प्रस्तुत गरिने आयोजक हिमाल एशोसिएसनले जनाएको छ । कोरोना र लकडाउन सम्बन्धी वृत्तचित्र प्रदर्शनपछि त्यही विषयमा पर्सि आइतबार सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलगायत विज्ञसँग छलफल हुनेछ ।

चलचित्र भर्चुअल विधिमार्फत प्रदर्शन गरिए पनि उद्घाटन, छलफल कार्यक्रम, ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तक विमोचन र समापन भने भौतिक रुपमा उपस्थित भएर नै गरिने छ । पर्वतीय दिवसको अवसर पारेर हरेक वर्ष महोत्सव हुँदै आएको छ ।

हिमाल एशोसिएसनले सन् २००० मा पहिलो पटक काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल किम्फ आयोजना गरेको थियो । त्यसयता किम्फका १७ संस्करण सम्पन्न भइसकेका छन् । किम्फको सुरुका चार संस्करण भने दुई–दुई वर्षको अन्तरालमा भएको थियो । सन् २००७ यता किम्फ महोत्सव हरेक वर्ष हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया