‘नागरिकप्रति उत्तरदायी हुन पनि सरकारले समितिकाे निर्देशन मान्नैपर्छ’

 मंसिर २६, २०७७ शुक्रबार १६:२२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताउनुभएको छ । 

समितिले दिएको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताउनुभएको हो ।

शुक्रबार कुराकानी गर्दै सभापति श्रेष्ठले नागरिकप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निर्देशनहरू पालना गर्नुपर्ने बताउनुभएको हो । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाइ राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । 

पूर्वसचिव मुकुन्द शर्माले भने कुनै पनि समितिले दिएका निर्देशनहरू सरकारले पालना गरेको/नगरेको भन्ने सम्बन्धमा समिति आफैले कार्यप्रगति मूल्याङ्कन गरी संसद् समक्ष पेस गरी छलफल गराउन सक्नुपर्ने बताउनुभयो ।

तर सरकारले कुनै निर्देशनहरू कार्यान्वयन नगरेमा समितिका सभापतिहरू विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधानअनुसार कार्यप्रगति मूल्याङ्कन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरूलाई सरकारले बेवास्ता गरिरहेको बताउनुभयो । यस्तै कुनै पनि निर्देशन कार्यान्वयनमा नगए तत्काल समितिको बैठक बोलाएर छलफल चलाउन सक्नुपर्ने पनि पूर्वसचिव शर्माले बताउनुभयो । 

समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गएकाे बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री थापालाई निर्देशन दिएको भए पनि सरकारले बिहीबार डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । समितिको बैठकमा अधिकांश सांसदहरूले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वयन गर्न समितिले निर्देशन दिएको थियो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया