वायु प्रदूषण बढ्यो, धेरै मापन केन्द्रमा रातो सङ्केत

 मंसिर २६, २०७७ शुक्रबार १८:३०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका धेरैजसो ठाउँको हावाको प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था अस्वस्थ रहेको देखाएको हो ।

विराटनगर, धनगढी र भक्तपुरमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ अवस्थामा पुगेको छ भने काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रसँगै नेपालगञ्ज, महेन्द्रनगर, दाङ, हेटौँडा, धनकुटा, भरतपुरलगायतका ठाउँमा रहेका मापन केन्द्रले रातो सङ्केत दिएर स्वास्थ्यका लागि खतरापूर्ण अवस्था रहेको बताएका छन् ।

मापन केन्द्रहरूले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वा दुई सयभन्दा बढी भएमा बैजनी रङ्ग देखाएर अत्यन्तै अस्वस्थ रहेको सङ्केत गर्छन् भने एक सय ५० देखि दुई सयको बीचमा भएमा रातो रङ्ग देखाएर खतरापूर्ण रहेको सङ्केत गर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । तर अहिले देशका सबैजसो मापन केन्द्रमा अक्वा एक सयभन्दा उकालो लागेको छ । फोक्सोको रोग, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएको डाक्टरहरु बताउँछन् ।

नेपालमा बढिरहेको वायु प्रदूषण र रोगको सम्बन्ध बढेसँगै विज्ञहरुले वायु प्रदूषणलाई नयाँ धुम्रपानको संज्ञा दिन थालेका छन् । वैज्ञानिकहरूको एउटा टोलीले घरबाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ, यो सुर्तीजन्य धूमपानभन्दा धेरै हो ।

मौसमी अवस्था, विभिन्न ठाउँमा बालिने आगो, सवारी साधनबाट निस्कने धुवाँ तथा उद्योगलगायतका कारण वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया