मल खरिदको सम्झौता गर्न नेपाली टोली बङ्गलादेश जाँदै

 मंसिर ३०, २०७७ मंगलबार ८:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गलादेशसँग मल खरिदको सम्झौता गर्न नेपाली टोली आज बङ्गलादेश जाँदै छ । 

५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्ने सम्झौता गर्न नेपाली सरकारी टोली बिहान ९ बजे त्यसतर्फ जाने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । नेपाल र बंगलादेशबीच (जीटुजी ) मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

बंगलादेश जाने टोलीमा कृषि मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी हुनुहुन्छ । बंगलादेशसँग मल ल्याउने सम्झौता भएपछि मात्रै खरिदको अन्तिम मूल्यबारे थाहा हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

विवादरहित रूपमा सरकारी मूल्यमा रासायनिक मल खरिद गरेर ल्याइने उहाँले जानकारी दिनुभयो । यसअघि नै कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि कम्पनी छनोट गरिसकेको छ । ढुवानीका लागि कम्पनीले गएको असोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ ।

कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् । गएको भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो ।

बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने भने पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया