मनाङको तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि निभेन

 माघ २७, २०८१ आइतबार १५:०:५१ | रासस
unn.prixa.net

मनाङ – मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि निभेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका कारण नियन्त्रण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिएका छन् तर डढेलाे नियन्त्रणमा आएको छैन । डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चाैँरीका चरन क्षेत्र नष्ट भएका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ । राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पक्षी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका आचार्यले बताउनुभयो । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेकाे र बस्तीमा आगलागीको जोखिम नरहेको उहाँले उल्लेख गर्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने ठाउँमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुक्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताउनुभयो । यसरी हरेक वर्ष वन्यजन्तु तथा पशुपक्षीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्णरूपमा लोप हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनाश हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यसअघि विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया