राष्ट्रिय जलस्राेत नीति सार्वजनिक, विभिन्न रणनीति समावेश

 पुष २, २०७७ बिहीबार २०:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति २०७७’ सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बृहत् अन्तर्क्रियाबाट पहिलो पटक राष्ट्रिय जलस्रोत नीति निर्माण गर्न सफल भएको बताउनुभयो । प्राकृतिक सम्पदालाई कसरी सदुपयोग गर्न सक्छौँ र भोलिको दिनमा कसरी पुस्तान्तरण गर्न सक्छौँ भन्ने कुरालाई राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको मन्त्री पुनले बताउनुभयो । संविधान जारी भएपछि जलस्रोतको उपयोग तीनवटै तहबाट गर्ने संवैधानिक व्यवस्था भएअनुसार नै नीति तयार पारिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

जलस्रोतलाई सिँचाइमा, जलविद्युतमा र पर्यटन पूर्वाधारको रूपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको मन्त्री पुनकाे दाबी छ । राष्ट्रिय जलस्रोत नीतिले जलस्रोतको प्रयोग सामान्य अवस्थामा र विशिष्ट अवस्थामा कसरी गर्ने भन्ने सम्बन्धमा समेत निर्देश गरेको मन्त्री पुनले बताउनुभयो ।

राष्ट्रिय जल उपायोगको बहुआयामिक आवश्यकताहरूको सहज परिपूर्ति गर्ने, जलस्रोतको बहुआयामिक तथा समन्यायिक विकास र उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पुर्‍याउने, जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन र नियमन गर्दा अध्ययन, अनुसन्धान तथ्य एवं प्रमाणका आधारमा गर्ने उद्देश्य राष्ट्रिय जलस्रोत नीतिले राखेको छ । 

यस्तै सङ्घ, प्रदेश र पालिकाको समन्वयमा जलस्रोतको संरक्षण, विकास तथा उपयोग गर्ने, नागरिकका आवश्यकता परिपूर्तिका लागि आवश्यक पर्ने जलस्रोतजन्य सेवा सुविधा सहज सुलभ, सुपथ र समन्यायिक तवरले उपलब्ध हुने गरी जलस्रोत क्षेत्रको विकास गर्ने उद्देश्य पनि नीतिले राखेको छ । 

आर्थिक सामाजिक तथा वातावरणीय पक्षमा पर्न सक्ने नकारात्मक प्रभाव न्यून हुने गरी जलस्रोतको विकास र उपयोग गर्ने र जल उत्पन्न विपद्को न्यूनीकरण एवं प्रभावकारी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्ने उद्देश्यसमेत राष्ट्रिय जलस्रोत नीतिले लिएको छ । 

यसबाहेक राष्ट्रिय जलस्रोत नीति २०७७ ले विभिन्न ११ वटा रणनीतिसमेत तय गरेको छ । नदी, बेसिन गुरुयोजनाको आधारमा जलस्रोतको उपयोग तथा व्यवस्थापन गर्ने, एकीकृत जलस्रोत व्यवस्थापन तथा जलस्रोतको बहुउद्देश्यीय उपयोगलाई प्राथमिकता दिने, जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन तथा नियमनका लागि उचित संस्थागत व्यवस्था गर्ने, जलस्रोत संरक्षण र विकासमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता अभिवृद्धि गर्ने रणनीति लिएको छ । 

साथै जलस्रोत क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने, सम्बन्धित संस्था तथा जनशक्तिको क्षमता विकास गर्ने, सङ्घ, प्रदेश र पालिकाको भूमिका र दायित्व स्पष्ट गरी जलस्रोतको उपयोग गर्ने, जलस्रोत आयोजनाबाट प्रभावित क्षेत्र तथा समुदायको सुरक्षा एवं संरक्षण गर्ने, सामाजिक, सांस्कृतिक एवं वातावरणीय पक्षमा पर्न सक्ने नकारात्मक प्रभाव न्यून हुने गरी उपयोग गर्ने र जलजन्य विपद्को नियन्त्रण एवं न्यूनीकरण गर्ने रणनीति पनि राष्ट्रिय जलस्रोत नीतिमा समावेश छ ।   

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया