पच्चीस वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै

 पुष ३, २०७७ शुक्रबार १३:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ ।

यूनेस्कोद्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रिया नेपालकाे मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गएको साल नै अघि बढाइएपछि यूनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले अहिले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा मनहर्टले विशेष रुचीपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न यूनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

'हामी यो वर्ष सूचीकृत हुने तयारीमा छौँ, चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ', नगरप्रमुख भीम न्यौपानेले भन्नुभयो । उहाँका अनुसार नगरले चालु आवमा विश्व सम्पदामा सूचीकृत गराउन एक करोड रुपैयाँ बजेट छुट्याएको छ ।

सूचीकृतको मन्त्रालयगत प्रक्रिया अन्तिम चरणमा पुर्याइएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिनुभयो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

यूनेस्कोको नेपालमा रहेको निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । पुरातत्त्व विभागद्वारा अहिले पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।

पनौती नपाको वडा नं ५, ६ र ७ मा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया