कांग्रेसले भन्याे– ‘अविलम्ब संसद् अधिवेशन बाेलाउनुपर्छ’

‘संविधानकाे मर्म विपरीत आएकाे अध्यादेश फिर्ता हुनुपर्छ’

 पुष ३, २०७७ शुक्रबार १५:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । 

शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले संवैधानिक परिषद्सम्बन्धी जुन अध्यादेश ल्याएको छ यो संविधानको भावना र मर्म विपरीत छ । यो अध्यादेश तत्कालै सरकारले फिर्ता लेओस् । संविधानको व्यवस्थामाथि कुनै खेलबाड नगरोस् । यो स्वीकारयोग्य छैन । फिर्ता हुनुपर्छ ।’

त्यसैगरी संसद्को अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाँणको भनाइ छ । बैठकले संसद् अधिवेशन अविलम्ब बोलाउनसमेत माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अविलम्ब नागरिकको समस्यालाई छलफल गर्नका लागि, नागरिकलाई भरोसा र विश्वास दिलाउनका लागि, सरकारको कमी कमजोरीलाई परिमार्जन गर्दै सरकारको क्रियाशीलताका निम्ति सदनको अधिवेशन अविलम्ब बोलाउनुपर्छ ।’

बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्णरूपमा असफल भएको निष्कर्षसमेत निकालेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ ।

प्रमुख सचेतक खाँणले भन्नुभयो, ‘कोरोना महामारीको व्यवस्थापन गर्न सरकार पूर्णतः असफल भएको छ । आम नागरिकको जीवन रक्षा गर्ने सरकारको पहिलो दायित्व हो । कोरोना नियन्त्रण, व्यवस्थापन र सङ्क्रमितको उपचारमा सरकार गम्भीर छैन, आर्थिक अनियमितता र भ्रष्टाचार गरिराखेको छ । यो अनियमितता, भ्रष्टाचार गर्ने पदाधिकारीलाई कारबाही गरोस् ।’

यसैगरी उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णयसमेत बैठकले गरेको उहाँले बताउनुभयो । उखु किसानको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । ‘उखु किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् । किसान प्रताडित भएर धर्ना बसिरहेका छन् । उखु किसानले गरेको आन्दोलनको समर्थन गर्दछौँ । आन्दोलनलाई सरकारले ध्यान देओस् र किसानले उखुको भुक्तानी पाऊन् । सरकारले गम्भीरताका साथ प्रयत्न गरोस् ।’

बैठकले केही समयअघि मोरङको मिक्लाजुङ गाउँपालिका १ काे सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको घटनालाई निन्दनीय र दुःखद घटना भन्दै भर्त्सना गरेको छ । यस्ता हिंसात्मक घटनालाई रोक्दै दोषीमाथि कारबाही गर्न बैठकले माग गरेको छ ।

प्रमुख सचेतक खाँणले भन्नुभयो, ‘कुनै पनि नागरिकलाई, कसैले पनि कुनै पनि बाहानामा जीवनमाथि आक्रमण गर्न पाइँदैन । हत्या, हिंसा गर्न पाइँदैन । यस्तो हिंसात्मक घटना रोकियोस् र श्रेष्ठको हत्या गर्नेलाई सरकारले कारबाहीको दायराभित्र ल्याओस् ।’ 

नेता खाँणले वर्तमान सरकार चौतर्फीरूपमा असफल भएको भन्दै निरङ्कुश सोचले ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने समेत बताउनुभयो ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया