म्याग्दीको बेनीमा खुलामञ्च विस्तार र स्तरोन्नतिको काम अलपत्र

 पुष ४, २०७७ शनिबार १३:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी - म्याग्दीको बेनीमा खुलामञ्चमा विस्तार र स्तरोन्नति गर्ने काम अलपत्र परेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्याराफिट बनाउन २०७४ सालमा नौ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारिएको थियो । तर बजेटले निरन्तरता नपाएपछि काम अलपत्र परेको छ ।

जिल्ला खेलकुद विकास समिति र बेनी नगरपालिकाले ‘मिनी स्टेडियम’ बनाउन सुरु गरेको योजना चालु आर्थिक वर्षमा बजेटबिहीन भएपछि काम अधुरै छन् । म्याग्दी नदीको किनारतर्फको प्याराफिट भत्काइएको छ । प्याराफिट भत्काएपछि खेलमैदानको बीचमा ढुङ्गा र माटो थुपारिएको छ ।

खेलमैदानको अभावमा खेलकुद गतिविधि नै ठप्प भएको स्थानीय युवा सतिश श्रेष्ठले बताउनुभयो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । त्रिकोण आकारको मैदान ८० मिटर लामो र ३८ मिटर चाक्लो छ ।

कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउने योजना छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षअघि बेनीको खुल्ला मञ्चलाई ‘मिनी स्टेडियम’ बनाउने घोषणा गर्नुभएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले २०७१ सालमा छ लाख पचास हजार र २०७३ मा ५९ लाख ६७ हजार रुपैयाँ विनियोजन गरेको थियो । २०७४ मा एक करोड र २०७५/०७६ मा ६० लाख रुपैयाँ विनियोजन भएको थियो । गएकाे आर्थिक वर्ष २०७६/०७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले ५० लाख, खेलकुद मन्त्रालयले ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख विनियोजन भएको थियो ।

बेनी नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्माले कोरोनाका कारण खेलमैदानलाई बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया