झण्डै ९७ अङ्कले घट्याे नेप्से

 पुस ५, २०७७ आइतबार १६:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजार काराेबार मापक नेप्सेमा उच्च गिरावट आएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो । आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किँदा नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ ।

कारोबार सुरु भएदेखि नै घटिरहेको बजारमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेको समाचार आएसँगै अन्तिम २५ मिनेटमा थप ४३ अङ्कको गिरावट दखियो । समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात् ९६ दशमलव ८८ अङ्कले घटेर एक हजार नाै सय ३५ दशमलव ६३ अङ्कमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव २५ प्रतिशत अर्थात् २६ दशमलव ३९ अङ्कले घटेर ३ सय ६९ दशमलव ५५ अङ्कमा झरेको छ । 

दिनभर एक सय ९८ कम्पनीको नाै अर्ब चार करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ४५ लाख नाै हजार पाँच सय ३३ कित्ता शेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै अन्य समूह ८ दशमलव ३९ प्रतिशतले घटेको छ ।

यस्तै जलविद्युत् समूह ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूह ५ दशमलव ४८ प्रतिशत, जीवन बीमा समूह ५ दशमलव ०५ प्रतिशत, व्यापार समूह ४ दशमलव २८ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ६९ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ९२ प्रतिशत, होटल समूह २ दशमलव ६३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ३५ प्रतिशत र म्युचल फण्ड समूहका शून्य दशमलव ९९ प्रतिशतले घटेको छ । 

नेप्से परिसूचकमा भारी गिरावट आए पनि १४ वटा कम्पनीका शेयरधनीले भने कमाएका छन् । युनाइटेड इदी–मर्दी आरबी जलविद्युतका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।

यसबाहेक विभिन्न १२ कम्पनीका शेयरधनीले ९ प्रतिशतभन्दा बढी गुमाएका छन् । जसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत्, माथिल्लाे तामाकोशी जलविद्युत् लगायतका कम्पनीका शेयरधनी रहेका छन् । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै एक अर्ब ६ करोड ८४ लाख ६३ लाख रुपैयाँ बराबरको भएको छ ।   

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया