बर्दिया निकुञ्जमा सेना र सिकारीबीच गोली हानाहान, वन्यजन्तुको सुकूटी र बन्दुकसहित दुई जना पक्राउ

 पुष ६, २०७७ सोमबार १०:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जमा गएराति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र सिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५-६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाबीच गोली हानाहान भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट झण्डै ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर इलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोली र हतियारधारी सिकारीहरुसँग मुठभेड हुँदा दोहोरो फायरिङ भएको निकुञ्जले जनाएको छ । 

निकुञ्जको नियमित गस्तीका क्रममा रहेका बेला सिकारीहरु वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा फेला पारेको सहायक संरक्षण अधिकृत असिम थापाले बताउनुभयो । ‘सिकारीहरु बन्दुकसहित थिए, सेनालाई देख्नासाथ उनीहरुले गोली चलाए, सेनाले पनि जवाफमा गोली चलायो, उनीहरु भागे’ - थापाले भन्नुभयो । 

निकुञ्जको टोलीले तत्काल खोजी गर्दै जाने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउँपालिका वडा नम्बर ३ नरसिंहकाँडाका ३४ वर्षका चक्रबहादुर विष्ट र त्यही ठाउँका २४ वर्षका गणेश तिवारी रहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक ३ थान, गोली १७ थान, बारुद २०० ग्राम, हँसिया ५ थान, गुलेली १, जाल १, वन्यजन्तुको सुकुटी अन्दाजी ७० किलो, बन्दोबस्तीको सामानलगायतका सामाग्री बरामद गरिएको छ । फरार रहेका शिकारीलाई पक्राउ गर्न खोजी कार्य भइरहेको छ ।

निकुञ्जका कर्मचारीसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनालाई देख्न साथ सिकारीहरुले गोली प्रहार गरेपछि सेनाले पनि जवाफी फायर गरेको हो । दुवैतर्फ फायरिङ भएपनि कुनै मानवीय क्षति नभएको निकुञ्जको भनाइ छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया