कोरोना भाइरस : अर्काे एउटा प्रकार, दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो

 पुस ९, २०७७ बिहिबार १७:३३:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतमा कोरोना भाइरसको एक नयाँ प्रकार भेटिएको छ, यो नयाँ प्रकार पछिल्लो नयाँ प्रकारभन्दा धेरै नै खतरनाक छ । 

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बुधबार नयाँ प्रकारको कोरोना भाइरसको दुई वटा मामिलाबारे थाहा भएको बताएका छन् । 

कोरोना भाइरसको यो नयाँ प्रकार सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको हो । 

बेलायतमा यसको सङ्क्रमण पुष्टि भएका दुई जना भर्खरै दक्षिण अफ्रिकाको भ्रमणमा गएको बताइएको छ । 

बेलायतका स्वास्थ्यमन्त्री ह्यानककका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकार बेलायतमा भेटिएको भन्दा तीव्र फैलिने र धेरै ‘म्युटेडेड’ छ ।  

उनले यस प्रकारको प्रसारलाई ‘निकै चिन्ताजनक’ बताएका छन् । यसलाई मध्यनजर गर्दै दक्षिण अफ्रिकाको यात्रामा अहिले प्रतिबन्ध लगाइएको छ । 

यसका साथै पछिल्लो १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्किएका र उनीहरुको सम्पर्कमा आएकालाई क्वरेण्टीनमा बस्न निर्देशन दिइएको छ । 

कोरोना भाइरसको यो नयाँ प्रकार दक्षिण अफ्रिकामा पनि गम्भीर चिन्ताको विषय बनेको छ । 

दक्षिणा अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले यस नयाँ प्रकारको चपेटामा आएर ‘युवा र स्वस्थ व्यक्ति पनि बिरामी परेको’ बताएका छन् ।

उनले भने, ‘एड्स महामारीको सुरुवाती दिनमा गुज्रिएको जसरी देश चल्न सक्दैन ।’

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले नयाँ प्रकार निकै तीव्र फैलिरहेको र देशका कैयौँ क्षेत्र यसको चपेटामा परेको बताएका छन् । 

अहिले कोरोना भाइरसको यस प्रकारको अध्ययन भइरहेको छ तर अहिलेसम्म प्राप्त भएको जानकारीअनुसार यो कैयौँ गुणा तीव्र फैलिरहेको छ । 

बेलायतमा गएको मङ्गलबार यस नयाँ प्रकार देखिएको थियो । 

दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकार बेलायतमा भेटिएको नयाँ प्रकारसँग मिल्दोजुल्दो छ, यद्यपि यी दुई छुट्टै–छुट्टै विकसित भएका हुन् । 

दुवै प्रकारमा एन५०१वाई नामको ‘म्युटेशन’ हुन्छ, जसले शरीरका कोषिकाहरूलाई प्रभावित गर्दछ । 

यसैबीच पछिल्लो २४ घण्टामा बेलायतमा कोभिड–१९ का ३९ हजार दुई सय ३७ सङ्क्रमित भेटिएका छन् ।  

इम्पेरियल कलेज लण्डनका प्रोफेसर निल फर्ग्युसनले भने, ‘अहिले हाम्रो लागि सबैभन्दा ठूलो चिन्ता भनेको दक्षिण अफ्रिकाको नयाँ प्रकारलाई लिएर हो । त्यस भाइरस तीव्र फैलिने गरेको सङ्क्रमणको सङ्ख्या पनि तीव्र बढिरहेको छ ।’

यसै क्रममा बेलायतका स्वास्थ्यमन्त्री ह्यानककले भाइरसलाई नियन्त्रित गर्न बक्सिङ डे (क्रिसमसको अघिल्लो दिन) मा अन्य लाखौँ व्यक्तिमा पनि कडा प्रतिबन्ध लगाउने बताए । 

सार्वजनिक स्वास्थ्य इङ्ग्ल्याण्ड (पीएचई) की डाक्टर सुसान हप्किङ्सले भनिन्, ‘भाइरसको दुवै प्रकार धेरै सङ्क्रामक देखिन्छन् ।’ तर अहिले दक्षिण अफ्रिकामा देखिएको प्रकारको बारेमा जानकारी लिइरहेको उनले जानकारी दिइन् ।  

वारविक मेडिकल स्कुलका प्रोफेसर लरेन्स यङ भन्छन्, ‘हात धुने, अनुहार नछुने र दुरी कायम जस्ता उपाय अपनाउने हो भने यस नयाँ प्रकार रोक्न मदत पुग्छ ।’

दक्षिण अफ्रिकाको सरकारले क्रिसमसलाई मध्यनजर गर्दै प्रतिबन्धमा कडाइ गरेको छ । साथै पश्चिमी केप प्रान्तको लोकप्रिय गार्डन रुटसहित सबै बिच बन्द गरिएको छ । 

प्रमुख विपक्षी दल डेमोक्रेटिक एलायन्स र केही समूहले सरकारको यस कदमको विरोध गरेका छन् । उनीहरुले बिच बन्द गर्दा साना साना कारोबारमा निकै नराम्रो असर पुग्ने भन्दै अदालत समक्ष आपत्ति जनाएका छन् । 

तर न्यायाधीशहरूले नागरिकको स्वास्थ्यको रक्षा सरकारको कर्तव्य भन्दै प्रतिबन्ध लगाइ राख्न भनेको छ । 

दक्षिणी अफ्रिकी देशहरुमा अहिलेसम्म ९५ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा २५ हजारभन्दा धेरैको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया