पुनर्निर्माण प्राधिकरण स्थापनाको पाँच वर्ष पूरा : निजी आवाससहित सम्पदाकाे काम अझै बाँकी

 पुष १०, २०७७ शुक्रबार १०:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै ‍- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट भएको क्षतिपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका काम गर्न २०७२ साल पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।

प्राधिकरणले निजी आवास, शिक्षा, स्वास्थ्य, पुरातात्त्विक सम्पदा, सार्वजनिक र सुरक्षा निकायका भवन पुनर्निर्माणको जिम्मेवारी पाएको थियो । तर भूकम्पको पाँच वर्ष ८ महिनामा पनि पुनर्निर्माणका काम भने सकिएका छैनन् । निजी आवासमा अहिलेसम्म ७६ प्रतिशतले मात्रै अनुदानको तेस्रो किस्ता बुझेको प्राधिकरणको तथ्याङ्क छ ।

भूकम्पले घर भत्केका झण्डै ८ लाख लाभग्राहीसँग अनुदानको सम्झौता भएको थियो । तीमध्ये ५ लाख ५८ हजार घरको पुनर्निर्माण भएको छ । प्रवलीकरण गर्नुपर्ने झण्डै ७८ हजार घरको काम पनि अहिलेसम्म अगाडि बढ्न सकेको छैन ।

निजी आवासमा सन्तोषजनक प्रगति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको दाबी छ । भूकम्पपछि भएको नाकाबन्दी र पछिल्लो कोरोना भाइरस सङ्क्रमण जोखिमकाबीचमा पनि पुनर्निर्माणले गति लिएको उहाँको दाबी छ । 

आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्त्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ । यो अवधिमा रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको काम सकिएको छ । धरहराको २० औँ तलामा काम भैरहेको छ ।

पुनर्निर्माण गर्नुपर्ने ९ सय २० पुरातात्त्विक सम्पदामध्ये अहिलेसम्म ४ सय ५९ वटाको काम सकिएको छ । प्राधिकरणका अनुसार अहिले १ सय १९ सम्पदाको काम भैरहेको छ भने अरु ३ सय ४२ सम्पदाको काम बाँकी छ । 

त्यस्तै भूकम्पले भत्केका ७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये ६ हजार ५८ वटाको काम सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुनर्निर्माण सकिएको छ । १ सय ४५ वटा बन्दै छन् । भूकम्पले क्षति पुगेका ४ सय १५ सरकारी भवनमध्ये ३ सय ५० वटाको पुनर्निर्माण भएको छ ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माणसम्बन्धी ऐनमा प्राधिकरणको अवधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ । पुनर्निर्माण तथा पुनःस्थापनाका काम बाँकी रहेपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षभरि बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्नेछ भने बाँकी ५ महिना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायतका काम गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया