बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको असर नेपालमा पनि पर्न सक्छ

 पुस १२, २०७७ आइतबार १०:२:५ | डा. वासुदेव पाण्डे
unn.prixa.net

समय अनुसार भाइरसमा पनि परिवर्तन हुन्छ । बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको डीएनए संरचनामा अलिकति परिवर्तन भएको छ । यो अहिलेको कोभिड १९ भन्दा थोरै फरक छ भन्ने कुरा अहिलेसम्मको अनुसन्धानले देखाएको छ । यो भाइरसमा  थप देखिएको  विषेशता भनेको छिट्टै फैलनु हो ।  अरु कुराहरु अनुसन्धानकै क्रममा छ । 

विश्वमा भएका कुनै पनि क्रियाकलापबाट नेपालमा असर पर्न सक्छ । अहिले एकै दिनमा विश्वको एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकिन्छ । बेलायत लगायतका देशमा त झन् आउने, जाने क्रम चलिरहन्छ । यसकारण पनि नयाँ स्वरुपको कोरोना भाइरसको असर नेपालमा सिधै पर्न सक्छ । 

नेपालमा लकडाउन गर्नेबारे अहिलै सोचिएको छैन । तर बेलायतबाट आएका व्यक्तिहरुलाई एकदमै नजिकबाट नियाल्ने काम भइरहेको छ । बेलायतबाट आएकाहरुको सूची तयार पारेर उनीहरुलाई टेलिफोन गर्ने, सकेसम्म आइसोलेशनमा राख्ने लगायतका काम भइरहेको छ । 

आइसोलेशनमा बस्न नसक्नेहरुलाई घरमै सुरक्षित तरिकाले बस्न अनुरोध गर्ने र दैनिक टेलिफोन गरेर अपडेट गर्ने काम भइरहेको छ । त्यसबारे सरकारले काम थालिसकेको छ । 

बेलायतबाट आएका मानिसमा लक्षण देखिएको छ भने सरकारी निकायबाट तुरुन्त परीक्षण गरिन्छ । र नयाँ भाइरस, पुरानो भाइरससँग मिल्दोजुल्दो छ कि छैन भनेर हेरिन्छ । 

नयाँ भाइरसले धेरै कुरामा फरक पार्न सक्छ । कोरोना भाइरसविरुद्ध  प्रयोग गर्ने भनेर अहिले निर्माण भइरहेका खोप नयाँ भाइरसमा प्रभावकारी हुन्छ कि  हुँदैन भनेर अनुसन्धानकै क्रममा छ ।  तर बेलायतमा देखिएको नयाँ किसिमको भाइरसले भने हामीलाई पक्कै असर गर्छ । 

त्यसैले पनि तयारी थालिएको हो । नेपालमा कोरोना भाइरसको  संक्रमण घट्दै गएको छ । त्यही भएर तत्काल लकडाउनको विषय सोचिएको छैन । तर पनि कोरोना नियन्त्रण भइसक्यो, जोखिम टरिसक्यो भन्ने अवस्था भने पक्कै छैन । 

अहिले अरु विभिन्न खालका परीक्षणहरु भइरहेका छन् । बेलायत, विश्व स्वास्थ्य संगठन लगायतले यसबारेमा अध्ययन गरिरहेका छन् ।  अहिले बनेको खोप नयाँ भाइरसविरुद्व प्रभावकारी हुन्छ कि हुँदैन भन्नेबारे पनि अध्ययन भइरहेको छ । 

नयाँ देखिएको कोरोना भाइरस पुरानो भाइरसभन्दा  धेरै परिवर्तन भएको रहेछ भने काम नगर्न पनि सक्छ । सामान्य मात्रै परिवर्तन भएको भए काम गर्न सक्छ । त्यो चाहिँ अलि विस्तृतमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने विषय हो । 

नयाँ किसिमको भाइरसबाट बच्न पनि कोरोना भाइरसबाट बच्नका लागि अपनाइने जस्तै उपायहरु अपनाउनुपर्छ ।  तर नयाँ किसिमको भाइरस छिट्टै फैलने भएकाले थप सतर्कता भने पक्कै अपनाउनुपर्छ । मास्क लगाउने, दूरी कायम गर्ने कुरालाई सधैँ ध्यान राख्नुपर्छ ।  भिडभाडमा जानु हुँदैन ।  खोपहरु  आइसकेपछि अलि सजिलो होला ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेसँग जानुका दुवाडीले गरेकोे कुराकानीमा आधारित) 
 

अन्तिम अपडेट: चैत २३, २०८०

डा. वासुदेव पाण्डे

डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया