इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वार...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागू गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि नव-नियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमसीसीमा कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरू छन् भने त्यसलाई सुधार गर्न सकिन्छ । हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’
पछिल्लो समयका हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकाले पनि पास गरेर अगाडि बढ्नुपर्ने मन्त्री रायमाझीले बताउनुभयो । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पुर्याउने बताउनुभयो ।
पदभार ग्रहण गर्दै मन्त्री रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन पद स्वीकार गरेको बताउनुभएको छ । उहाँले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको हो ।
मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भीरतापूर्वक लिइ जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश असाध्यै विषम परिस्थितिमा छ । यदि हामीले सिस्टमलाई बचाउनको निम्ति मेहनत गरेनौँ भने यो सिस्टम नै कोल्याप्स भएर, धरासायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएको हुँदा एकातर्फ त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाँदैछौँ । त्यो चुनाव सम्पन्न गर्नुछ । सरकारलाई सडकमा लगेर लावारिस गर्नुभएन । सरकारलाई सम्हाल्नुपर्याे । देशको विकास निर्माण, समृद्धिको काम, भइरहेका कामलाई निरन्तरता दिने र नयाँ कामलाई अगाडि बढाउने कामलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । दुवै जिम्मेवारी सम्हाल्नुपर्छ ।’
मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि चुनावमा जानुको विकल्प नरहेको पनि बताउनुभयो । देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्यसहित आफू सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीकाे भनाइ छ । उहाँले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमशः निर्यात हुनेतर्फ अगाडि बढाउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।