चिनियाँ कम्युनिस्ट पार्टीकाे टाेली काठमाण्डाै आइपुग्याे

 पुस १२, २०७७ आइतबार १४:४१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली काठमाण्डौ आएकाे हो ।

उपमन्त्रीकाे टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुगेकाे हाे । चिनियाँ उच्च तहका नेताको नेतृत्वमा एक टोली दिउँसो सवा एक बजेतिर एअर चाइनाको चार्टड जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको स्रोतले जनाएको छ । 

चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यद्यपि उपमन्त्री गुओसहित चार जनाको टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरूलाई भेट गर्नुभएको थियो । भेटमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनुभएको थियो । 

नेपालमा प्रतिनिधि सभा भङ्ग भएसँगै नेकपा विभाजित भएकोबारे चीनले चासोका साथ हेरिरहेको छ ।    

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया