रोजगारी सिर्जना र ठगी नियन्त्रण प्राथमिकतामा : नवनियुक्त श्रम मन्त्री

 पुष १२, २०७७ आइतबार १५:५८:१२ | रासस
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । 

मन्त्रालयमा आज आइतबार पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । ‘कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छ’, उहाँले भन्नुभयो ।  

मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताउनुभयो । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिपर्ने जनाउनुभयो । 

उहाँले मन्त्रालयबाट सम्पादन हुँदै आएका कामकारवाही र अब गर्नुपर्ने कामका बारेमा छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । ‘अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढिरहेको छ, विगतको अभ्यासलाई समीक्षा गरेर अगाडि बढ्छु,’ उहाँले भन्नुभयो । 

वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरोरुपमा उत्रने बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिनु हुँदैन भन्ने मेरो मान्यता छ ।’ वैदेशिक रोजगार व्यवसायीले पनि पारदर्शीरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया