हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
नन्दबहादुर महर्जन (थसिमि)
अहिले क्यानडा
वाग्मती प्रदेश अर्थात् प्राचीन नेपालमण्डलका नेवाः समुदायले बर्सेनि नयाँ धान भित्र्याएपछि चामल पिठोको डल्ला–डल्ला पारेर चैत्य वा स्तूप आकारमा त्यसको गर्भभित्र (खाली स्थानमा) चाकु र तिलको सम्मीश्रणबाट बनाइएको पोसिलो लेदो राखेर बफाइएको रोटी तयार पार्ने गर्छन् । जुन धेरै नै मिठो र स्वादिलो हुने भएकाले नामै मनपर्ने अर्थात् “य:मरी” रहन गएको मानिन्छ ।
नेपाली समाजमा यसको छुट्टै पहिचान, विशेषता र महत्त्व रहँदै आएको छ । यहाँनिर स्मरणीय के छ भने बेलायतको बीबीसी मास्टरशेफ प्रोफेसनल २०२० को प्रतिस्पर्धामा नेपाली शेफ सन्तोष साहले निर्णायक मण्डललाई चखाएर मात्रै “य:मरी” प्रख्यात भएको होइन । लिच्छवि कालदेखि नै नेपालमण्डलभित्र र यसभन्दा बाहिरका नेवाः समुदायमा “य:मरी” प्रख्यात थियो र आज पनि छ ।
नेवाः समुदायले बाहेक अन्य नेपालीले चिने पनि अन्य समुदायमा त्यति प्रचलनमा नल्याइएको र प्रचार–प्रसारमा पनि नआएको “य:मरी” एक जना नेपाली शेफ सन्तोष साहले लण्डनको मास्टरशेफ प्रोफेशनल २०२० को रियालिटी शोमा निर्णायक मण्डललाई चखाएर विश्वसामु ख्याति कमाए ।
आज विश्वले “य:मरी” नेवाःको खाना भनेर होइन कि नेपालको खाना भनेर चिनेको छ र हिजोसम्म नेवाः समुदायमा मात्र परिचित “य:मरी” आज सारा संसारले चिनेको छ । त्यसका लागि मास्टरशेफ प्रोफेशनल २०२० का मास्टर शेफ सन्तोष साहलाई सम्पूर्ण नेपालीकातर्फबाट धेरै बधाइ तथा शुभकामना दिनै पर्छ ।
केहीदिन पहिले फेसबुक, इन्स्टाग्राम, ट्वीटर र अन्य सामाजिक सञ्जालका भिताहरूमा व्यापक रूपमा सजियो “य:मरी” । गाउँ, टोल–टोलमा, सहर–बजार, स्वदेश तथा विदेशमा यसले निकै चर्चा पायो । आखिर यति धेरै चर्चामा आएको “य:मरी” को वास्तविकता के हो त ? यसको जिज्ञासा मेट्ने प्रयास कसैले गरेको देखिएन र जरूरी पनि ठानेनन् । आज यहाँ त्यही “य:मरी” को इतिहासकाे जरासम्म पुग्ने कोशिस गर्दैछु ।
नेपाल भाषामा “यः” भनेको नेपालीमा “मन पर्ने” र “मरी” भनेको नेपालीमा “रोटी” हो ।
यःंमरी मिलेर “य:मरी“ शब्द बनेको हो । “य:मरी” विशेषत मङ्सिर शुक्ल पूर्णिमाका दिन खाने चलन छ । यसै:मरीको नामबाट नै पूर्णिमाको नाम पनि रहन गएको संस्कृतिविद्हरूको भनाइ रहँदै आएको छ । यसै पूर्णिमालाई धान्यपूर्णिमा पनि भन्ने गरिएको छ ।
संस्कृत शब्दबाट धान्य भन्नाले धान भने बुझिन्छ । मङ्सिर महिना किसानहरूले नयाँ धान भित्र्याउने महिना भएकाले त्यही धानबाटै धान्यपूर्णिमा रहन गएको मानिन्छ । त्यस्तै नेपाल सम्वत् को तिथिअनुसार यसलाई थिंला पुन्ही भन्ने गरिन्छ ।
कहिलेदेखि बनाउन थालियो य:मरी ?
लुम्बिनी बौद्ध विश्वविद्यालय सम्बद्ध ललितपुर इबहाःबहीमा रहेकाे सुगत बौद्ध महाविद्यालयका संस्थापक अध्यक्ष पं महीश्वरराज बज्राचार्यका अनुसार यो चलन बालार्चन्द राजाले चलाएको मान्नुपर्ने हुन्छ । बालार्चन्द लिच्छवि राजा शिवदेव प्रथमका दोस्रा पुत्र थिए ।
ऐतिहासिक कालखण्डको हिसाबले हेर्दा शिवदेव प्रथमको राज्यकाल इस्वी संवत् ५८८ भन्दा केही अगाडि देखिन आउँछ । शिवदेवकी एउटी छोरी थिइन्, जसलाई अंशुवर्मासित बिहे गरेर पठाइएको थियो । उनकातर्फबाट पनि एउटी छोरी जन्मेकी थिइन् । उनको नाम भृकुटी राखियो, जसले विभूति स्वरूपमा नेपाललाई विश्वसामु चिनाउन सफल भएकी छिन् ।
इतिहासका पानामा शिवदेव नाम मात्रका राजा थिए भन्ने उल्लेख गरिएको छ । त्यतिबेला सम्पूर्ण राज्यको विरासत अशुंवर्माले सम्हालेका थिए । त्यसपछि राजा शिवदेवले बौद्ध धर्म अङ्गालेर ललितपुर छेउको शङ्खमूलमा आएर बसोबास गर्न थाले । केही समयपछि कान्तिपुरको विशालनगर (हाडी गाउँ) देखि शङ्खमूलसम्मको जङ्गलमा विशाल आगलागी भएर धेरै धनजनको क्षति हुन पुग्यो ।
त्यही जङ्गल फडानीपछि नयाँ बस्ती बसालेर श्रीमूर्ति देश नामाकरण गरी शिवदेव राजाकै रूपमा शङ्खमूलमा बस्दै आए । शङ्खमूलमा बस्दै गर्दा उनका दुई छोरा भए । पहिलो छोराको नाम विश्वदेव वर्मा र दोस्रो बालार्चन वर्मा थिए । विश्वदेव वर्मा अठार वर्षका भएपछि सम्पूर्ण राज्यभार विश्वदेव वर्मालाई सुम्पेर शिवदेव वर्मा धर्मपत्नीसँगै तपोभूमितिर लागे ।
पं बज्राचार्यको भनाइअनुसार विश्वदेव वर्माले राज्यभार सम्हालेका बेला संयोगवश जिउँदै यमलोकतिर पुगेछन् र यमलोकमा पुग्दा “पद्मपाणी लोकेश्वर” को साक्षात् दर्शन पाएछन् । यमलोकबाट फर्किसकेपछि राजा विश्वदेवले “पद्मपाणी लोकेश्वर” को मूर्ति बनाउन लगाएपछि उनको अल्पआयुमै मृत्यु हुन पुग्यो र उनका सन्तान कोही नभएकाले बालार्चनले सम्पूर्ण राज्यभार सम्हाले ।
बालार्चनले राज्यभारको पद सम्हालेपछि आफ्ना दाइ विश्वदेव वर्माले बनाउन लगाएको “पद्मपाणी लोकेश्वर” बोधिसत्वलाई रथमा राखेर तानेर सहरमा घुमाउने जात्राको सुरुवात गरे । “पद्मपाणी लोकेश्वर“ नेवाः समुदायमा “बोधिसत्व चकबा: द्यो” का रूपमा परिचित छ भने गैर नेवाः समुदायमा “मिन नाथ” नामबाट परिचित छ ।
“चकबास् द्यो” रथयात्रा रातो मच्छिन्द्रनाथको रथयात्रासँगै हुने गर्दछ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्दा पछिल्तिर तानेर ल्याउने अर्को रथ नै “पद्मपाणी लोकेश्वर“ बोधिसत्व (चकबा:दयाे वा मिननाथ) को रथ हो । बज्राचार्यको भनाइअनुसार यो रथयात्रा मच्छिन्द्रनाथको रथयात्रा हुनुभन्दा चालिस–पचास वर्ष अघिदेखि चल्दै आएको मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।