देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको हो : प्रधानमन्त्री ओली

 पुस १८, २०७७ शनिबार १८:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको बताउनुभएकाे छ ।

शनिबार काठमाण्डाैमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको बताउनुभएकाे हाे ।

संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको उहाँकाे भनाइ छ । प्रचण्ड–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको पनि उहाँले बताउनुभयो ।

‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियो', उहाँले भन्नुभयो, 'खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भिरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं ।’

प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाईलाई फुटाएर विभिन्न तत्वहरुसँग भित्रि साँठगाँठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने प्रयास गरिएको समेत बताउनुभयो । सरकारलाई असफल देखाउन तीन वर्ष देखिका विधेयकलाई समितिमा रोकेर राखिएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

‘संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् । सभामुखले तीनवटा अधिवेसन भए, तीनवटा अधिवेसन अगाडि सरकारले राखेका प्रस्ताव निर्णायर्थ प्रस्तुत हुँदैनन', उहाँले भन्नुभयो, 'तीन वर्ष अगाडि देखि राखेका प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ । समितिबाट अगाडि बढ्दैन ।'

त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि अस्वस्थ सडयन्त्रको चक्रव्युहमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको पनि उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया