दाहाल–नेपाल पक्षकाे अनेरास्ववियुले सरकारविरुद्ध दाेस्राे चरणकाे आन्दाेलन घाेषणा गर्‍याे

 पुष २१, २०७७ मंगलबार १४:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहको भातृ सङ्गठन अनेरास्ववियुले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

प्रचण्ड–नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । अनेरास्ववियुले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्यम्पसहरूमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने भएको छ । 

पुस २२ गते उपत्यकामा लालटिन जुलुस निकाल्ने र उपत्यकाबाहिर लालटिन, सिठ्ठी, लाठी जुलुस प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने, पुस २४ गते जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले बताउनुभयो । 

त्यसैगरी पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुले शैक्षिक सङ्घर्षका कार्यक्रमहरूकाे पनि घोषणा गरेको छ । सङ्घीय संसदबाट सर्वसम्मतरूपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र त्यस भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताउनुभयो ।

उहाँले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्याेल तत्काल अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा आफूखुसी ढङ्गले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने बताउनुभयाे ।

सह–संयोजक तामाङले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियुले अझै सशक्त कार्यक्रम गर्ने बताउनुभयो । माघ १ गते तेस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा गरिने उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया