लामो समयदेखि पानी नपर्दा हिउँदे बालीको उत्पादन घट्ने चिन्ता

 पुष २१, २०७७ मंगलबार १७:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्ष हिउँदयाममा पानी नपर्दा विभिन्न बालीनालीको उत्पादन घट्ने चिन्ता बढेकाे छ । प्रायः कात्तिक/मङ्सिरमा एक/दुई पटक पानी पर्ने गरेको भए पनि यो वर्ष मनसुन सकिएपछि पानी नपरेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

साेमबार (हिजो) सुदुरपश्चिम र कर्णालीका केही ठाउँमा सामान्य पानी परेको भए पनि अरू ठाउँमा तीन महिनादेखि पानी नपरेको माैसमविद् पाैडेलले बताउनुभयो ।

पानी नपर्दा तोरीको उत्पादन घटेको तथा पहाडी र हिमाली क्षेत्रमा गहुँ, फापरलगायतका बालीमा सुख्खा लागेको किसानहरूले बताएका छन् । अब पनि पानी नपरे पहाडी तथा हिमाली क्षेत्रका हिउँदे बाली उत्पादन घट्ने उनीहरूको भनाइ छ ।

तीन महिना पानी नपर्दा धेरै खडेरी लागेको भन्न नमिले पनि केही बालीहरूमा उत्पादन घट्ने कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ डाक्टर महादेवप्रसाद पौडेलले बताउनुभयो । आकाशे पानीको भरमा खेती गर्नेहरूको हिउँदे बालीलाई कात्तिक/मङ्सिरमा पानी पर्दा उपयुक्त हुने भए पनि यो वर्ष पानी नपरेको उहाँले बताउनुभयो ।

यसबेलासम्म पानी परेमा धेरै नोक्सान नहुने भए पनि अब केही समय पानी नपरेमा पहाडी तथा हिमाली क्षेत्रको गहुँ, फापर तथा आलु बालीमा समेत असर देखिने पौडेलले बताउनुभयो ।

अहिले कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पार्ने आशा गरेको भए पनि पानी नपर्दा निराश बनाएको किसानहरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सम्भावना रहेको बताए पनि सुदूरपश्चिम र कर्णालीका केही ठाउँबाहेक अरू ठाउँमा पानी परेको छैन ।

पश्चिमी वायु भाेलि (बिहीबार) देखी कमजोर बन्दै जाने विभागले जनाएको छ ।   

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया