प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि आजदेखि निरन्तर सुनुवाइ

 पुस २२, २०७७ बुधबार ७:३९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजालासमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।

संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले रिटमाथि अन्तरिम आदेश आउन समय लाग्ने भएको छ । गएको १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा लिखित जवाफ पेस गरिसकेका छन् ।  लिखित जवाफमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु राजनीतिक बाध्यता भएकाले न्यायिक पुनरावलोकनको विषय हुन नसक्ने भन्दै मुद्दा खारेजी हुनुपर्ने उल्लेख गर्नुभएको छ । सभामुख सापकोटाले संविधानमा विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने भन्दै पुनर्स्थापनामा जोड दिनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट निवेदन परेका छन् । रिट निवेदकहरूले यसअघि सर्वोच्चले कम्तीमा पनि ११ जनाको इजलासबाट फैसला सुनाएकाले यसपटक पनि बृहत पूर्ण इजलासबाट हुनुपर्ने माग गर्दै निवेदन पेश गरेका छन् ।   
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया