आकाश खुलेपछि फेरि चिसो बढ्यो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा माैसम बद्ली

 पुष २३, २०७७ बिहीबार ७:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - आकाश खुलेपछि फेरि चिसो बढ्न थालेको छ ।

सोमबार र मंगलबार बादल लागेको बेला काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा हिजोदेखि फेरि तापक्रम घट्न थालेको हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस थियो । आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आकाश खुलेकाले न्यूनतम तापक्रम घट्दै र चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । हिजोदेखि मौसम खुलेकाले न्यूनतम तापक्रम हिजोभन्दा आज घट्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आजदेखि अबको १, २ दिन न्यूनतम तापक्रम घट्दै जाने सम्भावना छ । काठमाण्डौ उपत्यकाबाहिर पनि चिसो बढ्ने मौसमविद्को भनाइ छ । अघिल्लो हप्तासम्म माइनसबाट ओरालो लागेको उच्च पहाडी तथा हिमाली क्षेत्रको तामपक्रम अस्ति बादल लागेपछि बढेको थियो । तर आकाश खुलेपछि फेरि तापक्रम घट्न थालेको छ ।

हिजो दिपायलको न्यूनतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस, डडेल्धुराको ७ दशमलव १ डिग्री सेल्सियस, जुम्लाको शून्य दशमलव ५, पोखराको ८ दशमलव २, ताप्लेजुङको ८ दशमलव ७,  धनकुटाको १० दशमलव ८, जिरीको २ दशमलव ४ डिग्री सेल्सियस र जोमसोमको शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि यी ठाउँहरुमा पनि निरन्तर तापक्रम घट्दै जाने मौसमविद् कँडेलले बताउनुभयो । यसैबीच आज पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा राम्रोसँग आकाश खुल्ने सम्भावना छैन । यी प्रदेशमा आज राति हल्का हिमपातको सम्भावना छ ।

तराईमा बिहान कुहिरो लागे पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया