‘प्रधानमन्त्रीले चाहे सच्चिने अवसर छ, फेरि एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ’

 पुष २४, २०७७ शुक्रबार १५:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदका लागि संविधान र पार्टी एकता मान्दिनँ भन्न नपाइने बताउनुभएको छ । 

राष्ट्रिय सभाको शुक्रबार (आज) को बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई कागजको खोस्टा मात्रै बनाउन लागेको आरोप लगाउनुभयो ।

उहाँले प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । 

नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले प्रधानमन्त्री ओलीले चाहे सच्चिने अवसर रहेको र ओली आए फेरि एकताबद्ध भएर अगाडि बढ्न सकिने बताउनुभयो । 

नेता श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास भएमा राजनीतिमा नयाँ सिलसिला सुरु हुने बताउनुभएको छ ।  राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “अहिले पनि अवसर छ, म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, त्यो असंवैधानिक घोषणाप्रति आत्मालोचना गर्दै प्रतिनिधि सभा पुनर्संरचना होस् भन्ने दिशातर्फ प्रधानमन्त्री आउनुभयो भने नयाँ सिलसिला सुरु हुन्छ ।”

प्रतिनिधिसभा विघटनको कदम फिर्ता लिए संविधान पनि ‘ट्र्याक’मा रहने तथा लोकतन्त्रको रक्षा हुने मात्र नभई एकीकृत कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई अगाडि बढाउने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले लोकतन्त्रको विकास गरी समृद्ध नेपाल बनाउँदै राजनीतिलाई सफा बनाएर विचार, सिद्धान्त, मूल्यमान्यताका आधारमा अगाडि बढाउनुपर्ने औँल्याउनुभयो । 

पुर्खाको सपना साकार गर्न र  जनताको अधिकार स्थापित गर्नका विगतमा सङ्घर्ष गर्नुपरेको घटना स्मरण गर्दै नेता श्रेष्ठले लोकतन्त्रको विकास, संविधानका कमजोरी सुधार, सामाजिक–आर्थिक रुपान्तरणका साथ शिक्षा, स्वास्थ्य, रोजगारलगायत सबै मौलिक हकको प्रत्याभूति गरेर नागरिकलाई परिवर्तनको अनुभूति गराउने दिशामा अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया