विरोधी हँसाउने लडाइँ बन्द गर्नुहाेस् - वामदेव गौतम

 पुस २५, २०७७ शनिबार १०:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आन्तरिक लडाइँ बन्द गरी एकता अभियानमा जोडिन आह्वान गर्नुभएको छ । 

पार्टीमा आएको फुटपछि आफू कुनै पनि समूहमा नरहेको बताउँदै आएका नेता गौतमले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक भन्दै पार्टी सदस्य, समर्थक तथा शुभ चिन्तकहरुलाई अभियानमा जोडिन आग्रह गर्नुभएको हो । 

एक वक्तव्य जारी गर्दै गौतमले पार्टीभित्र उत्पन्न समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिङ्गो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटना हुनु  राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी भएको पनि बताउनुभएको छ । 

उहाँले देश र विदेशका कम्युनिष्ट विरोधीहरूलाई हँसाउँदै सुरू भएको लडाइँ बन्द गर्न र एकतामा फर्कन आग्रह गर्दै पार्टी विभाजनउन्मुख हुन नेताहरूको अयोग्यता कारक भएको पनि उल्लेख गर्नुभएको छ । 

पार्टीभित्रको विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरी आउँदाे वैशाखमा चुनाव घोषणा गर्नुभएको छ । लगत्तै अध्यक्ष ओलीको पक्षमा एक समूह र कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा अर्को समूह गरी नेकपा दुई समूहमा विभक्त भएको छ । यो विभाजनले औपचारिकता भने पाइसकेको छैन । 

यस्तो छ नेता गौतमको अपिल 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
एकता राष्ट्रिय अभियान
अपिल
आदरणीय कमरेडहरु,
आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । यो संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजनतर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तर्गत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुई तिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैँमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि मार्क्सवाद लेनिनवादको मार्गदर्शनमा विकसित जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ती हने छैन । तर सरकार संचालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भएको छ । नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो ।

हामी सबैलाई थाहा हुनुपर्छ, चार दशकदेखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश वर्षसम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका बीच भएको एकीकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो । राष्ट्रिय राजनीतिमा महत्वपुर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको बीचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो । तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानूनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुवैले सहर्ष स्वीकार गरी सकेपछि मतभिन्नता त्यति जटिल हुने देखिदैन ।

सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो । तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो । पार्टी एकीकरणका निम्ति गरिएको पछिल्लो सहमति अनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो । अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो ।

यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले ब्यहाेर्न पर्ने अवस्था सृजना भएको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने सम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो ।

पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरण पछिको यो एक वर्ष नेतृत्वको धु्व्रीकरणमा बित्यो । पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरि छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले व्यहाेर्न परेको छ । यतिबेला कार्यकर्ताहरुलाई तानातान गर्दै क.केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन् । प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । साथै निजी क्षेत्रका दर्जनभन्दा बढी कानुनविद्हरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ । दुवै समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आफ्नो हक दाबी गर्दै निर्वाचन चिन्हमा समेत आफ्नो दाबी गरिरहेका छन् ।

उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुन:एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुन :एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।

उपरोक्त दुवै समूहमा सामेल हुनुभएका कमरेडहरु !

एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लङ्घन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै सुरु गर्नुभएको लडाइँ बन्द गर्नुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं शहीदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।

देश र विदेशमा रहनु भएका हाम्रो पार्टीका प्रिय कमरेडहरु !

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्नुहोस् ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस । कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नु होस् । घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्नुहोस् । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस् । कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।
लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन !
धन्यवाद !

वामदेव गौतम
संयोजक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया