३ सय ३० प्रदेशसभा क्षेत्रमा कांग्रेसको आमसभा, ओली नसच्चिए पतन हुने चेतावनी

 पुस २५, २०७७ शनिबार १७:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले आज देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा प्रदर्शन र आमसभा गरेको छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत कांग्रेसले आज ३ सय ३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन र आमसभा गरेको हो । देशका विभिन्न ठाउँमा भएका आमसभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र लोकतन्त्र मास्ने नियत राखेको आरोप लगाएका छन् ।

नागरिकले वर्षाैं लामो त्याग र बलिदान दिएर बनाएको संविधान मिचेर प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश तानाशाह बनाएको नेताहरुको आरोप छ । काठमाण्डौको बुढानिलकण्ठमा भएको आमसभामा सभापति शेरबहादुर देउवाले ओलीले संसद विघटन गरेर संविधान र प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाउनुभयो । संविधान विघटनको विषय सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकाले यो विषयमा धेरै बोल्न नहुने उहाँको भनाइ छ ।

यदि अदालतले संसद विघटनलाई सदर गरेर चुनाव हुने भएमा कांग्रेस चुनावको लागि तयार रहेको पनि देउवाको भनाइ छ । यस्तै काठमाण्डौकै भृकुटीमण्डपमा भएको सभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्र जस्तै पतन भएर जाने चेतावनी दिनुभयो । ज्ञानेन्द्रमा जस्तै ओलीमा पनि निरंकुश बन्ने सपना पलाएको तर नागरिकले ओलीका सपनालाई ध्वस्त बनाइदिने प्रवक्ता शर्माको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया