आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा चरा गणना गरिने

 पुस २६, २०७७ आइतबार ७:४३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि चरा गणना गरिने भएको छ ।

चरा गणनाको नेतृत्व गरेको बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीकाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ । चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ ।

कसराबाट लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ ।

बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उहाँले जानकारी दिनुभयो । बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ ।

यस वर्ष पहिलोपटक विस्तृत रुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । गणनामा पचास जनाभन्दा धेरै गणक सहभागी हुने र छ दिनभित्र गणना सम्पन्न गर्ने तयारी भैरहेको बिडारीले बताउनुभयो । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ ।

यो समय टाढा-टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । बिडारीकाअनुसार साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया