‘प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढङ्गले चल्ने राष्ट्रपति चाहिएकाे हाे ?’

 पुस २६, २०७७ आइतबार २०:३४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरूले राष्ट्रपतिको विरोध गरेको बताउनुभएको छ । 

आइतबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्र गरी 'सेरेमाेनियल' रूपमा राखेको भन्दै राष्ट्रपतिप्रति पुरातनवादी सोचका मान्छेहरू र देशलाई पछाडि फर्काउन चाहनेहरूले दलीय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरूले राष्ट्रपतिको विरोध गर्ने गरेकाे बताउनुभएको हो । 

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले ‘यहाँले महाराज घोषणा गरियोस् भनेर राष्ट्रपतिकोमा पठाउनु होला, राष्ट्रपतिले त्यो विज्ञप्ति जारी गर्नुहोला, के हामीले महाराज भनेर मान्ने ?’ भन्ने प्रश्नको उत्तर दिँदै ओलीले आफ्नै ढङ्गले चल्ने राष्ट्रपति नभइ सेरेमोनियल राष्ट्रपति राखेको बताउनुभयो ।

सम्मानित संस्थाको रूपमा, संविधानको रक्षक र पालकको रूपमा, मर्यादाको रूपमा रहेर काम गर्ने राष्ट्रपति संविधानले व्यवस्था गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई हामीले जम्माजम्मी प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्रै हिसाबमा एउटा सेरेमोनियल रूपमा राष्ट्रपति राखेका छौँ अनि के एक्टिभ राष्ट्रपति चाहियो हामीलाई ? प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढङ्गले चल्ने राष्ट्रपति चाहियो हामीलाई ? महाराजाधिराज जस्तो राष्ट्रपति चाहियो हामीलाई हुकुम तामेल गर्ने ? त्यस्तो राष्ट्रपति हामीले खोजेको होइन । हामीले खोजेको सम्मानित राष्ट्रपति भनेको सेरेमोनियल राष्ट्रपति हो । जसले सम्मानित संस्थाको रूपमा, संविधानको रक्षक र पालकको रूपमा मर्यादाको रूपमा रहेर काम गर्छ, त्यस्तो राष्ट्रपति खोजेको हो । संविधानभन्दा बाहिर गएर स्वेच्छाचारी ढङ्गले चल्ने राष्ट्रपति अहिलेको संविधानको कुरा पनि होइन । हामीले ल्याएको प्रणालीको कुरा पनि होइन । हाम्रो संविधानको व्यवस्था पनि होइन । राष्ट्रपतिप्रति केही पुरातनपन्थी सोचका मान्छेहरू देशलाई पछाडि फर्काउन चाहने तत्त्वहरू अथवा आफ्नो सङ्कीर्ण दलीय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरूले राष्ट्रपतिको विरोध गर्छन् । हामीले देखि भोगि आएको कुरा हो ।’

राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसार नबनेको बताउनुभयो । उहाँले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार धारा २ अन्तर्गत बनेको र प्रधानमन्त्रीले संसदले अर्को सरकार बनाउने सम्भावना हुँदा हुँदै किन प्रतिनिधि सभा विघटन गर्नुभयो भन्ने प्रश्न गर्नुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकार निर्माणको बेलामा उपधारा १ अनुसार नभए पनि दुई राजनीतिक दल एकीकरणपछि दुई पार्टी मिलेर एउटै संसदीय दलको नेता आफू छानिइ सरकार संविधानको धारा ७६ को उपधारा १ अनुरूप परिणत भएको बताउनुभयो । वर्तमान सरकार एकै दलको बहुमतको सरकार भएको र प्रतिनिधि सभा विघटनको सिफारिस गर्दासम्म आफू बहुमत प्राप्त दलको संसदीय दलको नेता रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले २०१७ सालमा राजा महेन्द्रले कु गरे जस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षता माथि तरबार झुण्ड्याएको बताउनुभयो । राष्ट्रिय सभा सदस्यहरू सदन बन्द होस् भन्ने पक्षमा नरहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रिय सभा सदस्यहरू जितेन्द्रनारायण देव, प्रमिला कुमारी, रमेशजङ्ग रायमाझी, प्रकाश पन्त र अनिता देवकोटाले प्रश्न गर्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले आ–आफ्नो दलको चुनावको तयारीमा लाग्न सुझावसमेत दिनुभयो ।    

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया