अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

 पुस २७, २०७७ सोमबार ११:२९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ ।

तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेका बीबीसीले जनाएको छ । सभामुख पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको जनाइएको छ ।

२५ औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टाभित्र जवाफ दिनु पर्ने छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सम्भवत मंगलबार महाअभियोगका बारेमा पहिलो मतदान हुन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ । संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा विद्रोहका लागि उक्साएको अभियोग ट्रम्पमाथि लगाउने तयारी छ ।

घटनामा प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । चुनावको नतिजा उल्ट्याउनका लागि हिंसाको सहारा लिएको आरोप ट्रम्पमाथि छ । सन् २०१९ को अन्तिममा पहिलोपटक महाअभियोगको सामना गरेका ट्रम्प चार वर्षे कार्यकाल नौ दिन मात्र बाँकी रहँदा पुनः महाअभियोगको सामना गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया