प्रधानमन्त्रीले सबै शक्ति आफू मातहत ल्याएर विराेधीलाई तर्साउनुभयाे : नेता नेपाल

 पुस २७, २०७७ सोमबार १७:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको बताउनुभएको छ । 

सोमबार काठमाण्डाैमा प्रतिनिधि सभा विघटनकाे विराेधमा आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे । 

ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी सङ्गठनलाई भाताभुङ्ग पार्न चाहेको नेता नेपालले बताउनुभयो । प्रधानमन्त्री ओलीको गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरूलाई दिन आग्रह गरेको पनि बताउनुभयो । उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचलि विधानसम्मत चल्ने जानकारी दिएको बताउनुभयो । 

अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उहाँले जिकिर गर्नुभयो । 

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया